काठमाडौँ/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशन अन्त्य गरिएको छ ।
बाँस र अन्य स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उहाँ यही साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा आज विभिन्न मागमा समझदारीपछि अनशन अन्त्य गरिएको हो ।
निमार्ण कार्यमा बाँसको प्रयोग गर्न सहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ । यस्तै, ‘खोटाङलाई बाँसको राजधानी’ का रूपमा विकास गरी बाँस अध्ययन तथा प्रवर्द्धन क्षेत्रको रूपमा विकास गर्नेलगायत विषयमा सहमति भएको छ ।
बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका सबै निकायमा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गर्नेलगायत विषय समझदारी पत्रमा समेटिएका छन् ।
यसैगरी बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकार भएकाहरूमा प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकास गर्ने, यस्ता उत्पादनको प्रचारप्रसार, बजारीकरणमा सहयोगलगायत प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले संचालन गर्ने, गराउने विषय पनि समझदारी पत्रमा उल्लेख छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित