कला र संस्कृति:

चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाच

जात्रा शुभारम्भका दिन जयवागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर जात्रा गरिएको छ । पशुपति क्षेत्रका सबै टोल एवं घरघरमा लैजान चाहनेका लागि प्रदर्शन गर्ने तयारी गरिएको छ । जात्रा चलाउनेमा प्रायः युवा, युवतीको बाहुल्यता देखिन्छ ।

काठमाडौँ / चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाचको रौनकता छाएको छ ।

विगत ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएपछि लोप हुन लागेको पशुपति क्षेत्रको एउटा जात्राले पुनर्जीवन पाएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोल स्थानीयवासीको साथ र सहयोगले नै यो जात्रालाई पुनर्जीवन दिन सकिएको बताउनुहुन्छ ।

जयबागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनरुत्थान श्रावण शुक्ल पञ्चमीमा पुनर्जीवन दिइएको हो । कोषका साथै दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको स्थानीय श्रीकृष्ण डङ्गोलले बताउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ ।

जात्रा शुभारम्भका दिन जयवागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर जात्रा गरिएको छ । पशुपति क्षेत्रका सबै टोल एवं घरघरमा लैजान चाहनेका लागि प्रदर्शन गर्ने तयारी गरिएको छ । जात्रा चलाउनेमा प्रायः युवा, युवतीको बाहुल्यता देखिन्छ ।

पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिर शान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घरघरमा प्रदर्शन गरिने प्रचलन रहिआएको छ ।

विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने कोष, स्थानीयवासी एवं आयोजक संस्था दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ । यो जात्रासँगै पशुपति क्षेत्रमा अन्य जात्रा पनि क्रमशः हुने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments