अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

सरकारले घोषणा गरेअनुसार करिब रु १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।

भोजपुर / यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।

विसं २०७७ मा आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले तीन सय ९६ स्थानीय तहमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको यो पहिलो अस्पताल हो । सरकारले घोषणा गरेअनुसार करिब रु १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । पन्ध्र श्ययामा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ नवनिर्मित भवनबाट सेवा सुरु गरिएको उहाँको भनाइ छ ।

“नवनिर्मित आधारभूत अस्पताल भवनबाट सेवा सुरु गरेका छौँ”, अध्यक्ष खत्रीले भन्नुभयो, “केन्द्र सरकारले घोषणा गरेअनुसार भवन सम्पन्न गरेर सेवा सुरु गर्न पाउँदा खुसी लागेको छ । यो अस्पतालले यहाँका नागरिकलाई सहज सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

राज्यको अवधारणाअनुसार अस्पताललाई १५ श्ययामा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिने अध्यक्ष खत्रीको भनाइ छ । पूर्वी क्षेत्रलाई लक्षित गरेर अस्पताल सञ्चालन गरिएपछि स्थानीय नागरिक उत्साहित भएका छन् । सरकारले भोजपुरमा पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल शिलान्यास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments