मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ/ मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रमका सहभागीले मधेससहित मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा पनि खडेरीका कारण रोपाइँमा समस्या हुँदै आएकाले मौसम अनुकूल कृषिबाली लगाउनुपर्नेमा जोड दिनुभएको हो ।

मौसममा आएको परिवर्तनका कारण खाद्यसुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुक्खास्थान अनुकूल खेती गर्नुपर्ने कृषिविज्ञ डा कृष्ण पौडेलले बताउनुभयो । उहाँले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको उल्लेख गर्नुभयो ।

पौडेलले कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएकाले समस्या आएको बताउँदै विषादी र रसायनको अत्यधिक प्रयोगले वातावरण तातो हुँदा हालको खडेरीको समस्या निम्तिएको धारणा राख्नुभयो । आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरी तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायमतर्फ सबै अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कृषिबालीमा सिर्जित समस्या समाधानका लागि सरकारले घोषणा गरेको डिपबोरिङ बनाउने योजनाले तराईलाई मरुभूमि बनाउनसक्ने बताउँदै कृषिविज्ञ डा पौडेलले खेती प्रणाली परिवर्तन गर्नु उपयुक्त विकल्प हुने उल्ल्ेख गर्नुभयो ।

वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पतिसमेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा उजागर हुनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन वैकल्पिक मार्ग देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि तीनै तहका सरकार, सरोकार भएका निकायलगायत सङ्घसंस्थाले भावी पुस्ताको अधिकारका बारेमा ध्यान दिई दिगो विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु न्यायबाट विशेषगरी महिला प्रभावित भएका बताउनुभयो । सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिला प्रभावित हुने भएकाले सरोकार भएका निकायको सहकार्य र समन्वयमा जलवायु परिवर्तनका असर न्यूनीकरणमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments