काभ्रेपलाञ्चोक/स्वास्थ्य बीमा गरेका बिरामीलाई सरकारी स्वास्थ्य संस्थाबाटै पहिलो सेवा दिनु पर्ने बाध्यकारी बनाइएको आज १२ औं दिन भयो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था गरेकाले यो काम जिल्लामा रहेका ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा सरकारी अस्पतालले गर्नु पर्ने भयो ।
तर, यो अवधिमा पनौती नगरपालिकामा रहेका सुन्थान र खोपासी प्राथमिक स्वास्थ्य केन्द्र तथा नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालले मात्रै सरकारी निर्णय कार्यान्वयनमा ल्याएका छन् । धुलिखेल नगरपालिकाको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रले सरकारी निर्णयलाई अवज्ञा गरेका छन् । यी दुबै केन्द्रका मेडिकल अफिसर र स्वास्थ्यकर्मी बीमा बोर्डको अभिमुखीकरणमा सहभागी भएर फर्केपछि झनै सेवा अन्यौल बनाएका छन् ।
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं धुलिखेल–८ का अध्यक्ष बिनोद गौतमको तत्काल उपचारात्मक सेवा दिन नसकिए पनि रेफरल सेवा सुरु गर्ने प्रयासलाई नगरपालिका र केन्द्रकै डाक्टर र स्वास्थ्यकर्मीहरुले असफल पारिदिएका छन् । यसबाट सबैभन्दा बढी मार धुलिखेलकै नगरवासीहरु परेका छन् । यतिखेर उनीहरु पनौती सुन्थान र खोपासीसम्म पुग्न बाध्य भएका छन् ।
वडा अध्यक्ष गौतमले प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गराइदिनका लागि धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई साउन ७ गते नै पत्राचार गरेको पाइन्छ । प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) लाई सो निर्णय कार्यान्यवनका लागि पठाएको पत्रलाई प्रप्रअले स्वास्थ्य शाखामा पठाएका छन् । गौतम भन्छन्, ‘नगरवासीको स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयवस्तु तथा संघ सरकारको निर्णय भएकाले संघकै कर्मचारीले सहयोग गर्लान् भन्ने सोचेका थियौं । तर, उनले पनि सघाएनन्’, गौतमले गुनासो गरे ।
बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने प्रमुख माग राख्दै आएका गौतम सो निर्णय नआउँदासम्म आफु अध्यक्ष रहेको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफरल भए पनि सेवा सुरु गराउनमा प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालय र सरोकारवाला निकायहरु धाउँदा धाउँदा अन्तत: राजनीतिक दलहरुकै शरणमा पुग्न बाध्य भएका छन् ।
सुरुमा नेपाली काँग्रेस, धुलिखेल नगर समितिको बैठकमार्फत बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने र सो निर्णय नआउँदासम्म धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफरल पत्र दिने सेवा सुरु गर्नु पर्ने निर्णय गरेको थियो ।
यस्तै, नेकपा एमालेको धुलिखेल कमिटीले एक विज्ञप्तिमार्फत बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने एकमात्र माग गरेको देखिन्छ । तर, भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्न सकिने सेवाबारेमा मौन रहेको पाइन्छ ।
यसैवीच, धुलिखेल नगरमा रहेका क्रियाशील दलहरुको बैठकले पनि बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने र सो निर्णय नआउँदासम्म धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफरल पत्र दिने सेवा सुरु गर्नु पर्ने निर्णय गरेको छ । तर, यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
यसबारेमा धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्दा ‘मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठ लुम्बिनी प्रदेशको भ्रमण जानु भएको’ भन्ने जवाफ पाइयो ।
स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा बिन्दु अस्पताल तोकेका काभ्रेपलाञ्चोक जिल्लाका सुन्थान र खोपासी प्राथमिक स्वास्थ्य केन्द्रले साउन १ गतेबाट साउन ११ गतेसम्ममा २ हजार ४२० बिरामीलाई रेफरल सेवा दिएका छन् । पनौती नगर प्रमुखको सचिवालयले साउन ११ गते साँझ जारी गरेको प्रगति विवरणमा खोपासी प्राथमिक स्वास्थ्य केन्द्र(पनौती नगर अस्पताल) बाट १ हजार ५१८ र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रबाट ९०२ जनालाई रेफरल सेवा दिइएको छ । मेथिनकोट अस्पतालबाट दिइएको रेफरल सेवाबार जानकारी पाउन सकिएन ।
वि.सं. २०३८ सालमै नगरपालिका बनेको बनेपाले नालास्थित नगर अस्पताललाई प्रथम सेवा बिन्दु अस्पताल बनाएको भनि बोर्डमा पत्राचार गरेको जनाएको छ । तर, सो पत्राचार गरिएको दुई साता हुन आँट्दासमेत बीमा बोर्डबाट स्वीकृति पाउन सकेको छैन । यतिखेर बनेपाका नगरवासीहरु रेफरल पत्रका लागि सुन्थान र खोपासी प्राथमिक स्वास्थ्य केन्द्र धाइरहेका छन् ।
यसैवीच, भक्तपुर जिल्लाका ४ वटा अस्पताल र २ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन रेफरल पत्र आवश्यक नपर्ने नियम आउँदा बनेपालीहरुको रोजाईमा भक्तपुर पर्न थालेको छ । अधिकांश बनेपालीहरु जगातीस्थित सूर्यविनायक नगर अस्पताल जान थालेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा २०७६ मंसिर १ गतेबाट स्वास्थ्य बीमा गरेका बिरामीहरुले रेफरल अस्पतालबाट सेवा पाउन थालेका हुन् । त्यतिखेर बोर्डले काभ्रे जिल्लाका लागि प्रथम सेवा बिन्दूका रुपमा पनौती, सुन्थान, धुलिखेल र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र एवं मेथिनकोट अस्पताललाई तोकेको थियो ।
यस्तै रेफरल अस्पतालका रुपमा धुलिखेल, रेयुकाइ एईको मासुनागा आँखा अस्पताल, वीर अस्पताल, प्रसूति गृह थापाथली, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल र नेपाल–कोरिया मैत्री अस्पताललाई तोकेको थियो ।
त्यति नै बेला पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले सुझाव दिउका थिए, ‘बिरामीहरुले प्रथम सेवा बिन्दूमा पुगेर सेवा लिन र त्यहाँबाट रेफर हुने प्रणाली अल्लि अपायक भएकाले अधिकृत तहको स्वास्थ्यकर्मी कार्यरत स्वास्थ्य चौकीलाई तोकेको खण्डमा कार्यक्रमप्रति आकर्षण बढ्ने थियो ।’
तर, स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था हुँदाहुँदै बीमाप्रति नागरिकलाई आकर्षित गर्न बोर्डले सुरुवाती समयमा पूर्ण रूपमा लागू गरेन । तर, यही प्रावधानलाई कार्यान्वयन गराउने क्रममा अहिले बोर्डको आलोचना हुन थालेको छ । अर्को शब्दमा भन्ने हो भने बोर्डले ऐन कानुनभन्दा पनि बीमालाई ब्यापक गर्न गरेको निर्णय यतिखेर बोर्डलाई नै ‘घाँडो’ साबित भएको छ ।
किनकी २०८२ असार १० गते बोर्डले निर्देशन जारी गरेर २०८२ श्रावण १ गतेदेखि प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने तथा रेफरल स्पतालमा स्वास्थ्य बीमा मार्फत उपचार गराउन आउने सम्पुर्ण विरामीहरुले प्रथम सेवा विन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पूर्जी (रेफरल पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको हो ।
उता, भएका प्रथम सेवा बिन्दुहरु धुलिखेल र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रले सेवा दिन आनकानी गरिरहेको एकातिर छ भने अझै पनि ९ वटा स्थानीय तहहरुले प्रथम सेवा बिन्दु अस्पताल तोकेका छैनन् । आफ्ना नागरिकहरुलाई स्वास्थ्य सेवा दिनु पर्ने कर्तव्य रहेका स्थानीय तहहरुले बोर्डले दिएको समय आधा सकिँदासमेत निर्णय नगर्नुलाई नागरिकहरुलाई सास्ती खेप्न जाउ, नसके मर भन्ने अवस्थामा पुर्यारहेका छन् ।
साउन १ गतेदेखि स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) अनुसार प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने व्यवस्था लागू गरेको स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरु यतिखेर सम्पर्कविहीनझै भएका छन् ।
बीमित र प्रथम सेवा बिन्दु अस्पतालका सेवा प्रदायकहरुले दुबिधा हुँदा सम्पर्क गर्नु पर्ने जिल्ला र प्रदेशका कर्मचारीहरुसमेत अलमलमा रहेका पाइन्छ । यतिसम्मकी बोर्डको वेबसाइट र फेसबुक पेजमा अद्यावधिक सूचनाहरुसमेत हाल्न छाडिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित