मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास मालीलगायत सहभागी थिए ।

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताउनुभएको छ ।

बिहीबार नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले बुझाएको अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन बुझ्दै उहाँले भन्नुभयो, “बहुजातीय, बहुभाषिक देशमा राज्यप्रति सबैको अपनत्व, संघीयताको प्रवर्द्धनका लागि मातृभाषामा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ । यो सम्मेलनले त्यसको भूमिकालाई उजागर गरेको छ ।”

उहाँले सम्मेलनको निष्कर्ष, उठान गरेका बहसलाई कानुन निर्माणमा, राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “देशीविदेशी पत्रकारहरूको सहभागितामा तपाईँहरूले सम्पन्न गर्नुभएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ । यसबाट आएको निष्कर्ष कार्यान्वयन गर्न पुरा सहयोग गर्ने छु”, उहाँले भन्नुभयो ।

पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनले समावेशी पत्रकारिताको विकास, समग्र पत्रकारिताको विकासमा मातृभाषा पत्रकारिताको महत्व र आवश्यकतासम्बन्धी विविध निष्कर्ष निकालेको थियो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास मालीलगायत सहभागी थिए । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरू गरेको एक सय वर्ष पुगेको उपलक्ष्यमा पत्रकार राष्ट्रिय दबूले सम्मेलन गरेको थियो ।

समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासका लागि नेवाः पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि निरन्तर वकालत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments