काठमाडौँ/राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले ‘मिसन–२०२६’ अर्थात् ‘२०औँ एसियाली खेलकुद’ बाट राष्ट्रलाई खुसी बनाउने योजनाका साथ तयारी गरिएको भएको बताउनुभएको छ ।
मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल सङ्घका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले उक्त भनाइ व्यक्त गर्नुभएको हो ।
“मिसन–२०२६ देशलाई खुसी बनाउने योजना हो । यो जापानमा हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने योजना हो । त्यति बेलासम्म म पूर्वभइसकेको हुन्छु । त्यसले कुनै फरक पर्दैन । तर, खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनुपर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन् ।”
सदस्य–सचिव घिसिङले भन्नुभयो, “यो योजना सफल बनाउन खेल सङ्घको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुनकुन समय के गर्ने भन्ने स्पष्ट र ठोस कार्य योजना एक साताभित्र बुझाउनुस् ।” उहाँले खेलाडीको प्रशिक्षणका लागि सङ्घले अन्तरराष्ट्रिय दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिँदै अन्य देश, आ–आफ्नो अन्तरराष्ट्रिय महासङ्घ र दूतावाससँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सदस्य–सचिव घिसिङ मिसन–२०२६ का लागि हाल रु दुई करोड ७० लाख मात्र छ भनेर चिन्ता नगर्न आग्रह गर्दै सङ्घहरूबाट ठोस् योजना आए बजेटका लागि गम्भीर भएर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउँदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण सुरू हुने बताउनुभयो ।
सहभागी खेल सङ्घका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा वृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राख्नुभएको थियो ।
जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित राखेपले आव २०८०/८१ देखि मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरू गरेको थियो । कुनै पनि एसियाली खेलकुद वा अन्तरराष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरू गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो । गत आवमा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित १२१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित