भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि २६ सम्म बेलायत र माल्दिभ्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
माल्दिभ्सका प्रधानमन्त्री मोहम्मद मुइज्जुको निमन्त्रणामा माल्दिभ्सको राजकीय भ्रमण र बेलायतका प्रधानमन्त्री केइर स्टारमरको निमन्त्रणामा प्रधानमन्त्री मोदीले बेलायतको भ्रमण गर्न लाग्नुभएको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो बेलायत भ्रमण हुनेछ । उहाँले आफ्ना बेलायती समकक्षीसँग भारत–बेलायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे विस्तृत छलफल गर्नुहुनेछ । उहाँहरूले क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि विचार आदानप्रदान गर्नुहुनेछ ।
प्रधानमन्त्री मोदीले बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी (सिएसपी) को प्रगतिको समीक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले माल्दिभ्स गणतन्त्रका राष्ट्रपति डा मोहम्मद मुइज्जुको निमन्त्रणामा जुलाई २५ र २६ मा माल्दिभ्सको राजकीय भ्रमण गर्नुहुनेछ । प्रधानमन्त्रीको माल्दिभ्सको यो तेस्रो भ्रमण हो भने डा. मोहम्मद मुइज्जुको अध्यक्षतामा कुनै पनि राष्ट्र वा सरकार प्रमुखको माल्दिभ्सको पहिलो भ्रमण हुनेछ ।
सन् २०२५ को जुलाई २६ मा माल्दिभ्सको स्वतन्त्रताको ६० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री मोदी ‘गेस्ट अफ अनर’ हुने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले डा मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नुका साथै पारस्परिक हितका विषयमा छलफल गर्नुहुनेछ । दुवै नेताले अक्टोबर २०२४ मा माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमणका क्रममा अपनाइएको ‘व्यापक आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’ का लागि भारत–माल्दिभ्स संयुक्त दृष्टिकोणको कार्यान्वयनको प्रगतिको पनि समीक्षा गर्नेछन् ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले आफ्नो सामुद्रिक छिमेकी माल्दिभ्सलाई भारतले दिएको महत्वलाई प्रतिबिम्बित गर्दछ । यसले भारतको ’छिमेक पहिलो’ नीति र भिजन महासागरमा विशेष स्थान ओगटेको छ । यो भ्रमणले दुवै पक्षलाई घनिष्ठ द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित