भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् ।
भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो । यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो ।
भिएनएक्सप्रेस समाचार साइटका अनुसार अचानक भारी वर्षाका कारण पल्टिएको ‘वन्डर सी’ नामक जहाजमा ४८ यात्रु र पाँच चालक दल सदस्य सवार थिए ।
“आकाश अँध्यारो भयो”, हा लङ बे क्षेत्रका बासिन्दा ट्रान ट्रोङ हङले एएफपीलाई भन्नुभयो, त्यहाँ “मुसलधारे वर्षा, आँधीबेहरी र चट्याङसहित औँला बराबरका ठूला असिनाहरू आए ।”
यात्रुहरूमा २० भन्दा बढी बालबालिका सहित राजधानी हनोईबाट आएका गर्ने परिवारहरू अधिकांश थिए ।
शनिबार साँझसम्म सीमा रक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए र ३४ जनाको शव बरामद गरेका थिए ।
रातभर क्याबिनमा तीनजना चालक दलका सदस्यहरूको शव फेला परेको थियो र अझै पनि बेपत्ता रहेका पाँच जनालाई फेला पार्न आइतबार बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।
उद्धार गरिएका मध्ये एक जनाको आइतबार अस्पतालमा मृत्यु भएको र मृतकको सङ्ख्या ३८ पुगेको भिएनएक्सप्रेसले जनाएको छ ।
उद्धार गरिएकाहरू मध्ये एक १० वर्षीय केटाले राज्य सञ्चारमाध्यम भियतनामनेटलाई भने, “मैले गहिरो सास लिएँ, एउटा खाली ठाउँबाट पौडिएँ, डुबेँ र त्यसपछि माथि पौडिएँ, मैले सहायताका लागि चिच्याएँ, त्यसपछि सिपाहीहरू भएको डुङ्गाले मलाई तान्यो ।”
प्रधानमन्त्री फाम मिन्ह चिनले शनिबार मृतकका आफन्तप्रति समवेदना प्रकट गर्दै रक्षा तथा जनस्वास्थ्य मन्त्रालयलाई तत्काल खोजी र उद्धार कार्य गर्न आग्रह गर्नुभएको थियो ।
“अधिकारीहरूले घटनाको कारण अनुसन्धान र स्पष्ट पार्नेछन् र उल्लङ्घनहरूलाई कडाइका साथ नियन्त्रणमा लिनेछन्”, सरकारी विज्ञप्तिमा भनिएको छ ।
शनिबार उत्तरी हनोई, थाई गुयेन र ब्याक निन्ह प्रान्तमा पनि भारी वर्षा भएको छ । तीव्र हावाहुरीका कारण राजधानीमा धेरै रुखहरू ढलेका छन् ।
यो आँधी तीन दिनको तीव्र गर्मीपछि आएको थियो । भियतनाममा केही क्षेत्रमा पारा ३७ डिग्री सेल्सियस (९९ डिग्री फारेनहाइट) पुगेको थियो ।
नेसनल सेन्टर फर हाइड्रोमेटियोरोलोजिकल फोरकास्टिङका निर्देशक माई भान खिमले भिएनएक्सप्रेसमा उद्धृत गर्दै उत्तरी भियतनाममा आँधीबेहरी दक्षिण चीन सागरमा उष्णकटिबन्धीय आँधी विफाको प्रभावका कारण नभएको बताउनुभयो ।
विफा आइतबार दक्षिण चीन सागरमा प्रवेश गर्दै शक्ति बढाउँदै छ र अर्को हप्ताको सुरुमा भियतनाममा आउने बाटोमा छ ।
हा लङ बे भियतनामको सबैभन्दा लोकप्रिय पर्यटन गन्तव्यहरू मध्ये एक हो । लाखौँ मानिस प्रत्येक वर्ष यसको निलो–हरियो पानी र वर्षावन–शीर्ष चुनढुङ्गाका टापुहरू हेर्न आउँछन् ।
गत वर्ष टाइफुन यागीले तीव्र हावा र छालहरू ल्याएपछि हा लङ खाडीको किनारमा रहेको तटीय क्वाङ निन्ह प्रान्तको डुङ्गा लक क्षेत्रमा ३० वटा जहाज डुबेका थिए ।
यस महिना इन्डोनेसियाको लोकप्रिय रिसोर्ट टापु बालीमा एउटा डुङ्गा डुबेर कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।-रासस/एएफपी
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित