हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

जेमिनाईबाट सिर्जित चित्र

तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्तिराम पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।”

उहाँका अनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ ।

गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक/एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषकको सङ्ख्या बढ्दै गएको छ, गोरु पाल्ने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने पराम्परा पनि हट्दै गएको छ, कार्यक्रम प्रभावकारी समेत बन्दै गएको छ ।”

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताउनुभयो ।

यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments