असार ३२ गते बोर्डले उपत्यकाबाहिरका १३ वटा रेफरल अस्पताललाई पुनः प्रथम सेवा बिन्दु कायम गर्दा उपत्यकाबाहिरकै धुलिखेल अस्पताललाई भने पुनर्विचार गरिएन । यसबाट काभ्रेपलाञ्चोक जिल्लाका १ लाख ९९ हजार ६४५ बीमितहरुलाई मर्का परेको छ ।
काभ्रेपलाञ्चोक/जिल्लाका अधिकांश स्थानीय तहहरुले स्वास्थ्य बीमाका लागि तोकिएका समूहका नागरिकहरुका निम्ति बजेट छुट्ट्याएका भए पनि स्वास्थ्य बीमा बोर्डले निर्देश गरेझैं कुनै एक तहलाई प्रथम सेवा बिन्दुका रुपमा विकास गर्न बजेट छुट्ट्याएको पाइन्न ।
यस दृष्टान्तबाट बोर्डले सबै स्थानीय तहलाई परिपत्र गरे अनुसार एउटा प्रथम बिन्दु तोक्न र एक महिनाभित्र न्यूनतम अपुग मापदण्ड पुरा गर्नमा समस्या हुने देखिएको छ ।
‘हामीले असार १० गते नै आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गाउँपालिका भित्रका ६० वर्ष वा सो भन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यको हेरचाह गर्न निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न ६० लाख रुपैंया बजेट विनियोजन गरेका छौं । तर, बोर्डले गाउँसभा अगावै यस्तो परिपत्र गरेको भए स्वास्थ्य संस्थाको न्यूनतम अपुग मापदण्ड पुरा गर्न बजेटमा व्यवस्था गर्न सकिन्थ्यो । अब त संशोधन पनि गर्नमा समस्या छ, किनकी यसका लागि हिउँदे अधिवेशन कुनुपर्ने हुन्छ’, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले अवस्था दर्शाए ।
जिल्ला सदरमुकाम धुलिखेलस्थित जिल्लाकै पहिलो प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, सेवा क्षमता र प्रविधिको अभाव रहेको भन्दै सो निर्णय तत्काल पुनरावलोकन गर्न माग गरिएको छ । नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठको अध्यक्षतामा सरोकारवालाहरुको बैठकले हाल प्रथम विन्दुको रुपमा सेवा दिँदै आइरहेको सामुदायिक अस्पताल धुलिखेलले रेफरल विरामीलाई मात्र सेवा दिन मिल्ने भन्ने व्यवस्थाले सेवाग्राहीलाई समस्या हुने उल्लेख गरेको छ ।
निर्णयमा बोर्डको परिपत्र अनुसार धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु कायम हुने र उक्त केन्द्रमा विद्यमान भौतिक पुर्वाधार लगायत पर्याप्त जनशक्ति समेत नभएको वर्तमान अवस्थामा श्रावण १ गतेको दिनवाटै धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रवाट विमा सम्वन्धी सेवा दिन नसक्ने भनिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा विमा सम्बन्धी सेवा प्रदान गर्न चाहिने न्यूनतम पुर्वाधारको व्यवस्था नहुँदासम्म धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गरिदिनको लागि विमा वोर्डलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।
तर, असार ३२ गते बोर्डले उपत्यकाबाहिरका १३ वटा रेफरल अस्पताललाई पुनः प्रथम सेवा बिन्दु कायम गर्दा उपत्यकाबाहिरकै धुलिखेल अस्पताललाई भने पुनर्विचार गरिएन । यसबाट काभ्रेपलाञ्चोक जिल्लाका १ लाख ९९ हजार ६४५ बीमितहरुलाई मर्का परेको छ ।
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवं धुलिखेल–८ का वडा अध्यक्ष बिनोद गौतम केन्द्रमा न्यूनतम पूर्वाधारको व्यवस्था नहुँदासम्म धुलिखेल अस्पताललाई नै प्रथम सेवा बिन्दु कायम गरिदिनु पर्ने माग दोहर्याए ।
सोही केन्द्रका उपाध्यक्ष एवं नेपाल औषधी व्यवसायी संघ काभ्रेका अध्यक्ष श्यामकुमार तिमिल्सना जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसीको व्यवस्था र जनशक्ति नभएकोले खाइपाई आएको औषधी पाउनमासमेत समस्या आएको बताउँछन् ।
बोर्डले जिल्लाकै पहिलो नगरपालिका बनेपामा प्रथम सेवा बिन्दु अस्पताल नै तोकेको छैन । यसले गर्दा बनेपाका नगरवासीहरु बीमावापतको उपचार सेवा लिन कहाँ जाने भन्ने अलमलमा रहेका छन् ।
बनेपाकी उपप्रमुख बिमला सापकोटा दाहाल भन्छिन्, ‘हामीले बोर्डको पत्र आएलगत्तै बनेपा आधारभूत नगर अस्पताल नालालाई प्रथम सेवा बिन्दु तोकिदिनका लागि बोर्डसँग एक चरणको कुराकानी गरिसकेका छौं । शायद केही दिनमै निर्णय भएर आउला’, उनले थपिन् ।
बनेपा नगर अस्पतालमा ३ जना मेडिकल अफिसरका साथै १८ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेकाले त्यहाँबाट पाउने सेवा प्रदान गर्न र अन्यत्र रेफर गर्नमा समस्या नहुने दाहालको भनाई छ ।
पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रको नाम बोर्डले सुरुको लिष्टमा समावेश नै गरेन । तर, पछि प्रथम सेवा बिन्दुका रुपमा उल्लेख गरे पनि तत्काल सेवा प्रदान गर्नलाई समस्या रहेको नगर प्रमुख महेश खरेलले बताए ।
‘स्वास्थ्य केन्द्रको अवस्था नाजुक छ । जनशक्ति छैन । १० हजार घरधुरीमध्ये ३० प्रतिशत बीमामा आवद्ध छन् । अहिलेको नयाँ व्यवस्थालाई उनीहरुले झण्झट मानेका छन्’, उनले थपे ।
पाँचखाल नगर स्वास्थ्य शाखाका सिनियर अहेव उज्ज्वल अधिकारीका अनुसार पूर्वाधारको तयारीमा लागेकाले संरचना र जनशक्ति व्यवस्थापनका लागि जनस्वास्थ्य कार्यालयमार्फत बोर्डसँग एक महिनाको समय मागिएको छ ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले हालसम्म सो नगरपालिकामा कुनै निकायबाट जानकारी नआएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय नभएको बताए ।
‘प्रथम सेवा बिन्दु जहाँ गए पनि हुने भनिएको छ । तर, सेवा केन्द्र मजबुत छैनन् । सेवा दिन सक्ने अवस्था छैन । पूर्वाधार, औषधी र जनशक्ति छैनन् । यो निर्णयले बीमितलाई हैरानी र सास्ती थप्ने बनायो, बीमा प्रभावित हुन्छ’, उनले दाबी गरे ।
चौंरी देउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौंलागाईंका अनुसार बोर्डबाट एक्कासी आएको निर्णयले बीमितहरुमा वितृष्णा बढेको छ ।
उनी भन्छिन्, ‘स्वास्थ्य बीमाप्रति हामी क्रियाशील थियौं । यो राज्यको नीतिले विकेन्द्रीकरणको नामा दुःख दिएको छ । यो निर्णय व्यावहारिक छैन । यद्यपि हामी आफ्ना नागरिकलाई सेवा दिन सन्दर्भमा तयारी र व्यवस्थापनमा सहजीकरण गर्छौं’, चौलागाईंले थपिन् ।
स्वास्थ्य बीमाका लागि गाउँमा सबैलाई अनुरोध गरे अनुसार २२ सय भन्दा बढी जनसंख्या आवद्ध भए पनि सेवा प्राप्ति सहज नभएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको भनाई छ ।
‘अब सेवा सहज भएन भन्नुभन्दा पनि अनुकुलता हेरेर एउटा प्रथम सेवा बिन्दु बनाउँदैछौं । यसका लागि स्वास्थ्य संस्था चुस्तदुरुस्त राख्नसक्ने दक्ष र अनुभवी चिकित्सकका सार्थ पूर्वाधार खडा गर्नुपर्ने चुनौती थपिएको छ’, उनले अवस्था दर्शाए ।
बेथचानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बीमा बोर्डको हालको निर्णयले बीमितहरुमा नैराश्यता उत्पन्न गराउने विचार व्यक्त गरे ।
‘जनताले दुःख पाउने भए, प्रक्रिया झण्झटिलो भयो । अब सरकारले स्थानीय तहलाई सहयोग गरेर पालिकास्तरिय अस्पताल बनाउनु पर्ने देखियो’, उनले थपे ।
स्थानीय तह जनसंख्या | |
खानीखोला गाउँपालिका १,२१२ | |
महाभारत गाउँपालिका २,२८८ | |
चौंरीदेउराली गाउँपालिका ३,२५३ | |
बेथानचोक गाउँपालिका ३,८९४ | |
तेमाल गाउँपालिका ४,२६९ | |
भुम्लु गाउँपालिका ८,१३४ | |
रोशी गाउँपालिका १२,१८१ | |
नमोबुद्ध नगरपालिका १३,१६२ | |
मण्डनदेउपुर नगरपालिका १८,२८३ | |
पाँचखाल नगरपालिका २५,१७५ | |
धुलिखेल नगरपालिका ३३,०५८ | |
पनौती नगरपालिका ३३,५३१ | |
बनेपा नगरपालिका ४१,२०५ | |
जम्मा १,९९,६४५ |
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित