स्वास्थ्य बीमा लोकप्रिय बनाउन बोर्डले सुरुआतमा ‘रेफरल अस्पताल’ लाई नै ‘प्रथम सेवा बिन्दु’ बनाएको थियो, अहिले घाँडो बन्यो

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदा स्वास्थ्य बीमा बोर्डले तत्कालीन मेथिनकोट प्राथमिक स्वास्थ्य केन्द्रका साथै धुलिखेल, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘प्रथम सेवा बिन्दु अस्पताल’ र धुलिखेल अस्पताललाई ‘रेफरल अस्पताल’ कायम गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा बोर्डले काभ्रेपलाञ्चोक जिल्लामा २०७६ भदौ २४ बाट दर्ता सुरु र साेही वर्षको मङ्सि १ बाट सेवा सुरु गरे तापनि यस अगावै बीमा लागू भएका सिन्धुली र भक्तपुर जिल्लाका बिरामीका लागि ‘रेफरल अस्पताल’ तोके अनुसार धुलिखेल अस्पतालले उपचार सेवा प्रदान गर्दै आएको थियो ।

बोर्डले नै पछि धुलिखेल अस्पताललाई पनि प्रथम सेवा बिन्दु कायम गरेपश्चात काभ्रेपलाञ्चोक जिल्लाका बिरामीहरुले पनि त्यतिखेर तोकिएका प्रथम सेवा बिन्दु (प्राथमिक स्वास्थ्य केन्द्र) मा नगई सोझै धुलिखेल अस्पतालबाट सेवा पाइरहेका हुन् ।

काभ्रेपलाञ्चोकसहित भक्तपुर, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका २ लाख ५३ हजार ६८८ बीमितले धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दु छनोट गरेका छन् । अस्पताल निर्देशक प्राडा. बलराम मल्लका अनुसार, बीमा सेवा शुरु गरेको ६ वर्षको अवधिमा धुलिखेल अस्पतालले १० लाख ६४ हजार ५९४ जनालाई उपचार सेवा दिइसकेको छ । जसमा ९ लाख ६७ हजार ८०३ जनाले बहिरङ्ग (ओपीडि) विभाग, ४२ हजार ९३१ जनाले अन्तरङ्ग (इन पेसेन्ट) विभाग र ५३ हजार ८६० जनाले आकस्मिक विभाग (इमर्जेन्सी) बाट सेवा लिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था हुँदाहुँदै बीमाप्रति नागरिकलाई आकर्षित गर्न बोर्डले सुरुवाती समयमा पूर्ण रूपमा लागू गरेन । तर, यही प्रावधानलाई कार्यान्वयन गराउने क्रममा अहिले बोर्डको आलोचना हुन थालेको छ । अर्को शब्दमा भन्ने हो भने बोर्डले ऐन कानुनभन्दा पनि बीमालाई ब्यापक गर्न गरेको निर्णय यतिखेर बोर्डलाई नै ‘घाँडो’ साबित भएको छ ।

किनकी २०८२ असार १० गते बोर्डले निर्देशन जारी गरेर २०८२ श्रावण १ गतेदेखि प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने तथा रेफरल स्पतालमा स्वास्थ्य बीमा मार्फत उपचार गराउन आउने सम्पुर्ण विरामीहरुले प्रथम सेवा विन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पूर्जी (रेफरल पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको हो ।

स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क शाखा काभ्रेपलाञ्चोककी प्रमुख मुना निरौलाका अनुसार जिल्लाभर १ लाख ९८ हजार ६६१ जना बीमित रहेका छन् । उनी भन्छिन्, ‘हामीले बीमा कार्यान्वयनका क्रममा बीमितहरुलाई र सेवा प्रदायक(प्रथम सेवा बिन्दु अस्पताल र रेफरल अस्पताल)हरुमा प्राविधिक रुपमा समस्या आएमा सहजीकरण गरि दिनेमात्रै हो । हिजैकै व्यवस्थाका लागि सरोकारवालाहरुले बोर्डकै पदाधिकारीहरुसँग समन्वय गर्दा वेश होला । किनकी हामी त निर्णय कार्यान्यवन गराउने तहमा भएकाले पछिल्लो निर्देशन अनुसार नै चल्नु पर्ने हुन्छ’, उनले थपिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments