काभ्रेपलान्चोक पूर्णखोप सुनिश्चित, उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जिल्लाका १३ वटा स्थानीय तहमा रहेका २३ महिनाभित्रका चार हजार २४१ बालबालिकालाई सबै खोपको मात्रा पुरा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो ।

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १घ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न भएसँगै आईतबार एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जिल्लाका १३ वटा स्थानीय तहमा रहेका २३ महिनाभित्रका चार हजार २४१ बालबालिकालाई सबै खोपको मात्रा पुरा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले जिल्लाको नमोबुद्ध नगरपालिकाका ४१७ जना, भुम्लु गाउँपालिकाका १४२ जना, मण्डनदेउपुर नगरपालिकाका २३६ जना, महाभारत गाउँपालिकाका ४६५ जना, पाँचखाल नगरपालिकाका ४४३ जना, पनौती नगरपालिकाका ६१० जना तथा तेमाल गाउँपालिकाका ११३ जनाले पूर्ण खोप पाएको बताउनुभयो ।

यस्तै धुलिखेल नगरपालिकाका ४२८ जना, बनेपा नगरपालिकाका ७५८ जना, खानीखोला गाउँपालिकाका २२५ जना, रोसी गाउँपालिकाका १९१ जना, बेथानचोक गाउँपालिकाका १४६ जना र चौरीदेउराली गाउँपालिकाका ६७ जनाले पूर्ण खोप पाएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत स्वास्थ्यकर्मी दुर्गा अधिकारी, बिशाल खाईजु, ममता श्रेष्ठ, कान्छा बानियाँ, फुलमती तामाङ, जेनिशा थिङ, श्रीराम कुमार राम, शुभेच्छादेवी कायस्थलाई सम्मान गरिएको थियो ।

त्यस्तै निरमाया लामा, इन्दिर खड्का बुढाथोकी, कल्पनाकुमारी तामाङ, मिनाकुमारी जोशी, कार्यालय सहयोगी शेरबहादुर प्रधान र सुजन थापालाई सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला खोप सम्न्वय समितिका संयोजक जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमले जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै यसको दिगोपनाको लागि सबै स्वास्थ्यकर्मीले ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले हेटौडा र चन्द्रागिरी नगरपालिकालाई ‘स्वस्थ’ सहरको रुपमा घोषणा गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले गोसाईकुण्ड गाउँपालिकालाई स्वास्थ्य पर्यटन पालिका घोषणा गर्ने, एक जिल्ला एक नमूना स्वास्थ्य संस्था बनाउने, सबै नीतिमा स्वास्थ्य नीति अबलम्बन गरिने बताउनुभयो । उहाँले हाल प्रदेशभित्रका ४४८ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरिएको बताउँदै आगामी वर्ष थप एक सय जना विद्यालय नर्स थप गरिने बताउनुभयो । उहाँले बजेट सिमितताका कारण उल्लेख्य सङ्ख्यामा विद्यालय नर्स खटाउन नसकिएको बताउनुभयो ।

पछिल्लो समय मनरोगको बिरामीको सङ्ख्या बढेकोले प्रदेश सरकारले मनरोग र उच्च रक्तचापको बिरामीलाई औषधीको अभाव हुन नदिने नीति र स्वास्थ्य परिषद् गरी योग तथा ध्यानको प्रशिक्षकको प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले प्रदेशभित्रका १३ वटा जिल्लालाई असार २७ गतेसम्म पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने बताउनुभयो । उहाँले प्रदेशभित्रका जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्नपछि प्रदेशलाई घोषणा गर्ने प्रकृया अघि बढाइने बताउनुभयो । उहाँले खोप खेर जाने दर धेरै भएकोले यसलाई घटाउनका लागि सबै जिल्लामा सुक्ष्म योजना बनाइने बताउनुभयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले धुलिखेल नगरपालिका स्वस्थ सहर घोषणा गरेसँगै त्यसलाई प्रदेश सरकारले आत्मसात गरेको बताउँदै स्वस्थ सहरका लागि नगरपालिकाले गरेको प्रयासको बारेमा प्रदेश सरकारसँग मिलेर अन्य पालिकामा लागु गर्न सहयोग गर्ने बताउनुभयो । त्यस्तै, चौरीदेउराली गाउँपाकिलाका अध्यक्ष रेणुका चौलागाँईले गाउँपालिकामा आधारभूत अस्पताल भएपनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति नहुँदा समस्या भएको बताउनुभयो । काभ्रेपलाञ्चोकलाई यसअघि २०७२ साल पुस २५ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments