काभ्रेपलान्चोक। बेथानचोक गाउँपालिकाले २०८१ सालको एस.ई.ई. परीक्षामा ग्रेडेड विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयबाट एस.ई.ई. परीक्षामा ग्रेडेड विद्यार्थीहरुलाई गाउँपालिकाको सभाहलमा एक कार्यक्रमबीच सम्मान गरेको हो । कार्यक्रममा ग्रेडेड विद्यार्थीहरुलाई बधाई व्यक्त गर्र्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले ८९.३५ प्रतिशत विद्यार्थी ग्रेडेड गराउनु उपलब्धि भएको बताउनु भयो ।
असोज महिनाको कहालीलाग्दो बाढी पहिरोको कहरबीच प्राप्त सफलता प्रशंसा योग्य भएको बताउनु भयो । उहाँले परीक्षामा सफल विद्यार्थीबाट गाउँपालिकाले अनि राष्ट्रले नै ठूलो अपेक्षा राखेकाले उच्च शिक्षामा राम्रोसँग अध्ययन गर्न आग्रह गर्नुभयो ।
गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र उच्च शिक्षामा पनि छोरी बुहारी निःशुल्क शिक्षाको अवधारणा ल्याएकोले भावी दिनका अध्ययनका लागि गाउँपालिका भित्रकै शिक्षालय रोज्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिका भित्रै प्राविधिक धारका उच्च शिक्षा अध्यापनको व्यवस्था रहेकोले प्राविधिक शिक्षामै जोड दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँपालिकाले शिक्षामा गरेको लगानीले नै उत्कृष्ट नतिजा आएको बताउँदै थप जिम्मेवार भएर काम गर्न मातहतलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले सबैको साझा प्रयासले गाउँपालिकाले आशातित नतिजा ल्याएको बताउनु भयो ।
गाउँपालिकाका १० वटा मध्ये २ वटा विद्यालयले शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएका छन् । जसमा वडा नं. ४ को भूमिमाता माध्यमिक विद्यालय र वडा नं. ५ को आत्मा विकास माध्यमिक विद्यालय रहेका छन् ।
यस्तै पार्वती माध्यमिक विद्यालयले ९८.३८ प्रतिशत विद्यार्थीलाई ग्रेडेड गराउन सफल भएको छ । गाउँपालिकाबाट उत्कृट जिपिए ल्याउने उत्कृष्ट ५ भित्र सबै पार्वती माध्यमिक विद्यालयका विद्यार्थी रहेको छन् । शत् प्रतिशत ल्याउने विद्यालयहरुलाई नगद रु २५ हजार र उत्कृष्ट ५ विद्यार्थीहरुलाई नगद रु ५ हजारले सम्मान गरिएको थियो ।
साथै वडा नं. १ को भैरब मा.वि.ले ४४.४४ प्रतिशत, चक्रेश्वर मा.वि.ले ८७.५० प्रतिशत, वडा नं. ३ को कृष्ण गोपालले ९०.८९ प्रतिशत, वडा नं. ४ कै सरस्वती मा.वि.ले ७४.१९ प्रतिशत, कालिका माध्यमिक विद्यालयले ८७.५०, वडा नं. ५ को भीमसेनेश्वर माध्यमिक विद्यालयले ९०.९१ तथा वडा नं. ६ को सरस्वती माध्यमिक विद्यालयले पनि ९०.९१ प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएकोमा सम्मान गरिएको छ ।
कार्यक्रममा १६६ जना विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शत् प्रतिशत ग्रेडेड गराउन सफल विषय शिक्षक, वडा कार्यालयहरुलाई सम्मान गरिएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित