जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको सुझाव र सहभागितासहित मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न सबै स्थानीय तहमा छलफल अन्तरक्रिया थालिएको बताउनुभयो ।
काभ्रेपलाञ्चोक। मनसुनजन्य विपद् न्यूनीकरणमा यहाँका स्थानीय तहको सक्रियता बढेको छ । विशेषगरी उच्च जोखिममा रहेका स्थानीय तहले सरोकारवालबीच छलफल गरी पूर्वतयारीको व्यवस्थापनमा लागेका हुन् ।
बाढीपहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा गत साल असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोमा धेरै जनधनको क्षति बेहोरेपछि यस वर्ष जोखिम कम गर्न जिल्लास्तरीय विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समिति खोज, उद्धार र राहतमा सक्रियता देखाएको सङ्घ र प्रदेश सरकार पुनर्निर्माणमा अल्मलिएको बताइयो ।
“सडक, निजी आवास, सार्वजनिक भवन, अस्पताल, औद्योगिक ग्रामलगायतका संरचना निर्माण गर्न बाँकी छ, अति प्रभावित यस गाउँपालिकामा अझै सतर्क भएर काम गर्नुपर्ने देखिन्छ”, गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले भन्नुभयो । उक्त गाउँपालिकामा गत साल असोजको बाढीपहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए । हाल उक्त गाउँपालिकामा विपद् व्यवस्थापनार्थ अन्तरपालिका समन्वयका साथै विपद् सहायता कक्षसमेत स्थापना गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको सुझाव र सहभागितासहित मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न सबै स्थानीय तहमा छलफल अन्तरक्रिया थालिएको बताउनुभयो ।
उहाँले विगतको अनुभव र भौगोलिक अवस्थितीले रोशी, नमोबुद्ध, बेथानचोकलगायतका स्थानीय तहले मनसुनजन्य बाढीपहिरोका विपदमा बढी प्रभावित हुनसक्ने भन्दै आवश्यक खाद्यान्न भण्डारण, उद्धार सामग्री, हेलिप्याड र राजमार्गसहितका पहुँचमार्ग पनि अवरोध हुने अवस्था आउन दिन नहुने बताउनुभयो । “जिल्लाको केही स्थानमा हवाई उद्धार सम्भव नभएकाले पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजनाबारे स्थानीय तहसँग अन्तरक्रिया गरिरहेको हो । हालसम्म जिल्लाको नमोबुद्ध नगर तथा रोशी र तेमाल गाउँपालिकामा यस्तो खाले कार्यक्रम गरिएको जनाइएको छ भने बाँकी १० स्थानीय तहमा क्रमशः गर्दै जाने समितिले जनाएको छ ।
अन्तक्र्रियात्मक अभियान टोलीमा जिल्ला समितिका संयोजक एवं प्रजिअ ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टरका गणपति, राष्ट्रिय अनसुन्धान जिल्ला कार्यालय प्रमुख, नेपाली सेनाको श्रीमेहर गण धुलिखेलका गणपति तथा जिल्ला प्रशासन कार्यालयका अधिकृतको सहभागिता भइरहेको छ ।
जिल्लास्थित सुरक्षा निकायले भने आफूहरुसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन व्यवस्थापन गर्न स्थानीय तहलाई सहकार्य गरिदिन अनुरोध गर्दै आएका छन् । गत साल असोज ११ र १२ गतेको अविरल वर्षामा बाढीपहिरोका कारण काभ्रेपलाञ्चोका ७८ जनाको निधन भएको थियो भने छ जना बेपत्ता भएकाको अवस्थामा रहेका छन् । उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १७ जना रहेका थिए । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।
बाढीपहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलाञ्चोकमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । मृतकको सङ्ख्या देशभर मृत्यु भएकामध्ये ३१ दशमलव ५६ प्रतिशत रहेको थियो । जिल्लामा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको थियो । यसमध्ये २१ विद्यार्थी थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित