विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धताअनुरुप राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए
काभ्रेपलाञ्चोक। गत असोज १०, ११ र १२ गते अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बेथानचोक गाउँपालिकाले एक वर्ष नपुग्दै ३ सय ७२ किलोमिटर सडक मर्मत गरेको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस विषयको जानकारी दिएका हुन् । प्रदेश तथा संघ सरकारसँगको समन्वयमा पूर्वाधार निर्माण कार्य थप अगाडि बढाइने उनले बताए । मंगलबार सत्रौं गाउँसभामा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धताअनुरुप राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको उनले बताए । कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले आर्थिक वर्षका लागि बिनियोजित कुल ६४ करोड ७३ लाख ५ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
सरकारले कृषि र पशुपालनमा सुधार, पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिनेगरी बजेट ल्याएको छ । विदेशबाट फर्केका युवालाई ४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण उपलब्ध गराउने बेथानचोक सरकारको घोषणा छ । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा टेवा दिनेगरी कोशेली घर स्थापना, माटो परीक्षण गरी वैज्ञानिक खेती, रैथाने बाली प्रवद्र्धन र बिउ बैंक बिस्तार गर्नेजस्ता कार्यक्रम ल्याइएका छन् । छिमेकी स्थानीय तहहरुसँगको समन्वयमा पूर्वाधार निर्माण कार्यलाई थप अगाडि बढाइने, उज्यालो बेथानचोक अभियानअन्तर्गत सोलार बत्ती जडान गर्नेलगायत कार्यक्रम राखिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले दिए ।
नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि बेथानचोकलाई हाइकिङ सिटीको रूपमा विकास गर्ने, तीनतले झरना र वैश्णव पार्कको स्तरोन्नति गर्ने, पदमार्गहरूको विकास गर्ने जस्ता कार्यक्रमहरू समावेश छन्। ‘बेथानचोक सफारी सञ्चालन गर्ने र गुम्बाडाँडा भ्यू टावर जस्ता पुराना योजनाले पनि यसपटक निरन्तरता पाएका छन् । त्यस्तै श्रमलाई सीपसँग जोड्ने, सीपलाई प्रविधिसँग जोड्ने र प्रविधिलाई उत्पादनसँग जोड्ने गरी एडभान्स तालिम सञ्चालन गरिने तथा महिला उद्यमशीलता विकासमा जोड दिने घोषणा गरिएको छ ।
शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि छात्रवृत्ति, छोरी बुहारीलाई निशुल्क शिक्षाको व्यवस्थालगायत पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य क्षेत्रमा २४ घण्टा सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रण जस्ता कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित