नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधीहरु अनुपस्थित भएका कारण १७ औं अधिवेशनको बैठक बस्न नसकिएको बताए
काभ्रेपलान्चोक। एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ ।
उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित गणपुरक संख्या नपुगेको’ भन्दै बुधवार ११ बजेसम्मको लागि बैठक स्थगित गरेको घोषणा गरे । विहान ११ बजे बोलाइएको बैठक ४ बजे सकिने कार्यतालिका थियो, तर ४ बजेपछि स्थगित भएको घोषणा गरिएको थियो ।
नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधीहरु अनुपस्थित भएका कारण १७ औं अधिवेशनको बैठक बस्न नसकिएको बताए । उनले कार्यपालिकामार्फत विधी र प्रकृया सबै पुरा गरिसकिएपनि अन्तिम समयमा सदस्यहरु अनुपस्थित भएकोले बैठक स्थगित गर्न बाध्य भएको बताए । विपदपछिको पुनर्निर्माण, पुनर्वास, खानेपानी लगायतका बिषयमा संम्बोधन गरेर बजेट ल्याउन लागेपनि रोकिएको बताए ।
उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमति भन्दा विपरित ४ करोड भन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताइन् ।
नगरपालिका श्रोतका अनुसार, नगरपालिकामा बचेको ३६ करोड श्रोत मध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति थियो । बाँकी रहेको २४ करोड मध्ये विपद, पुनर्वास, खानेपानी, बसपार्क लगायतका नगर गौरबका केही योेजनामा ५ करोड विनियोजन गरेर बाँकी साढे ९ करोड प्रमुख र उपप्रमुखले विनियोजन गर्ने सहमति भएको थियो । तर पछि नगर गौरबका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।
६२ सदस्यीय नगर सभा नगर प्रमुख, ४ वडाअध्यक्षसहित २१ जना नेपाल कांग्रेसबाट, १ वडाअध्यक्ष एकिकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित भएका छन् । कार्यपालिकामा आफ्नो बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक बर्ष ‘बखेडा’ गर्दै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित