प्रतिनिधिसभाः

बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताउनुभएको छ । राजनीतिक नेतृत्वले मेहनत गरेर बजेट नल्याएको आरोप लगाउनुभयो

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ ।

पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताउनुभएको छ । राजनीतिक नेतृत्वले मेहनत गरेर बजेट नल्याएको आरोप लगाउनुभयो । “बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”,सांसद पुनले भन्नुभयो ।

उहाँले राजस्व चुहावटको समस्या, पुँजीगत खर्च र प्राथमिकताका क्षेत्रलाई समेट्न बजेटले नसकेको बताउनुभयो । वित्तिय सङ्घीयतालाई बलियो बनाउन बजेट चुकेको उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आमजनताको अपेक्षा सम्बोधन गर्न बजेट असमर्थ भएको बताउनुभयो । उहाँले ठूला उद्यमी– व्यवसायी खुसी बनाउने गरी बजेट आएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

आम जनता पार्टीका सांसद प्रभु साहले बजेट बिचौलियालाई खुसी पार्ने गरी आएको आरोप लगाउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरीले आगामी आर्थिक वर्षको बजेटले नागरिकको आवश्यकता समेट्न सफल भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कृषि उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले बजेट मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटमा युवालाई केन्द्रमा राखी नवप्रवर्तनसहितका उद्योग, सहुलियतपूर्ण कर्जा, कृषिको आधुनिकीकरण समेटिएका बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments