मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

मुस्ताङ र डोल्पामा सडक विस्तार, सौर्य ऊर्जा पहुँचसँगै मोबाइल नेटवर्क सेवा सुरु हुन थालेपछि दैनिकी सहज हुने भन्दै स्थानीय उत्साहित भएका छन्

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ ।

मुस्ताङ-डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ सङ्घीय सरकार द्वारा सन् २०२२ मा पत्ता लगेको विकट बस्ती हो । यो गाउँ जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्दछ । भौगोलिक रूपले विकट मानिएको भिरालो सतहमा अवस्थित साङ्ता गाउँमा १३ परिवारको बसोकार छ । यहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा ३४ जना मतदाता थिए ।

कृषि र पशुपालनमा आश्रित साङ्ता गाउँ वारागुङ मुक्तिक्षेत्र-५ अन्तर्गत पर्दछ । सरकारी निकायको कम उपस्थित हुने यो गाउँमा पछिल्लो समय विकासले पाइला टेक्न थालेको छ । यसअघि अभाव, अशिक्षा र आर्थिक विपन्नताले कष्ठकर बनेको यहाँका नागरिकको दैनिक विस्तारै सहज बन्दै गएको हो ।

मुस्ताङ र डोल्पामा सडक विस्तार, सौर्य ऊर्जा पहुँचसँगै मोबाइल नेटवर्क सेवा सुरु हुन थालेपछि दैनिकी सहज हुने भन्दै स्थानीय उत्साहित भएका छन् । बर्सेनि सात महिना गाउँमा र पाँच महिना प्रतिकूल मौसमका कारण घुम्ती बासस्थान सार्ने गरेका यहाँका नागरिकमा अहिले भने आधारभूत सेवा प्रवाह हुन थालेसँगै आशाको सञ्चार पलाउन थालेको छ ।

नेपाल टेलिकमले वारागुङ मुक्तिक्षेत्र-२ को घिउलाडाँडामा रहेको माइक्रोवेभ रेडियो लिङ्कको रिपिटर टावरबाट जडान गरी साङ्ता गाउँमा मोबाइल फोन र थ्रिजी इन्टरनेट सेवा विस्तार गरिएको टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेस्ट ट्रान्समिसन स्टेसन (बिटिएस) जडान गरी सञ्चारको पहुँच स्थापित गरिएको हो ।

साङ्ता गाउँमा मोबाइलसँगै थ्रिजी इन्टरनेट सेवा सञ्चालन गर्न एक बिटिएस रिपिटर टावरसँगै अर्को मोबाइल सेवाको बिटिएस रिपिटर र भौतिक पूर्वाधार निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो ।

सरकारको लक्ष्य अनुसार जनताले गुणस्तरीय सञ्चार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले साङ्ता गाउँमा मोबाइल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख भुजेलले उल्लेख गर्नुभयो । मुस्ताङ-डोल्पा सडकको सिमावर्ती गाउँ साङ्तामा मोबाइल (बिटिएस) सेवा सुरु गर्न सौर्य ऊर्जा प्यानल जोडेर ४८ भोल्ट विद्युत् क्षमताको मोबाइल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

गाउँमा पहिलो पटक नेपाल टेलिकमको (बिटिएस) मोबाइल सेवा सञ्चालनमा आएसँगै सञ्चार पहुँच विस्तारले जनजीवन सहज बन्ने स्थानीय छिरिङ पाल्साङ गुरुङले विश्वास व्यक्त गर्नुभयो । “पहिले बाहिर कसैलाई फोन गर्नुपरे एक घण्टा हिँडेर लेकमा जानुपथ्र्यो, अहिले गाउमा सञ्चार सेवा पुगेपछि समय र खर्चको बचत भएको छ”, उहाँले भन्नुभयो ।

मोबाइल आपतविपत पर्दा सूचना थाहा पाउन र व्यावसायिक प्रयोजनमा पनि प्रयोग गर्न सकिने गुरुङको भनाइ छ । स्थानीय झप्याङ गुरुङले गाउँमा मोबाइल सेवा सुरु भएपछि समाचार पढ्न, फोन गर्न र कुनै सूचना प्राप्त गर्न सजिलो भएको बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिञ्जिङ नाम्गेल गुरुङले जिल्लाको विकट गाउँ साङ्तामा मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीमा आशाको सञ्चार भएको उल्लेख गर्नुभयो । गाउँमा मोबाइल सेवा सुरुभएसँगै प्रसूति र दीर्घरोगीका साथै यहाँ आउँजाउँ गर्ने सबैलाई सञ्चार सुविधाले सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“भौगोलिक विकटता र कम जनसङ्ख्या भएकाले यहाँ सञ्चार सेवा पुर्‍याउन सकेका थिएनौँ । निरन्तरको प्रयासपछि सरकारले हाम्रो प्रयासलाई मूर्त रूप दिएको छ । यहाँका समस्या, चुनौती, विकास पूर्वाधारलगायत क्षेत्रको विकासमा सञ्चारले सहयोग पुर्‍याउने विश्वास छ”, उहाँले भन्नुभयो ।

वारागुङ-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले साङ्ता गाउँमा जडान भएको मोबाइलको टावर र सञ्चार गृहको संरक्षणका लागि तारबारसहित संरचना निर्माण गरिने बताउनुभयो ।

मुक्तिक्षेत्रकी उपाध्यक्ष डिकी गुरुङले गाउँपालिकाको पहलमा अघिल्लो वर्ष सौर्य ऊर्जा विद्युत् र यो वर्ष मोबाइल सेवा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।

“मुस्ताङको ९६ वटा गाउँमध्ये सबैमा विद्युत् र सञ्चारको पहुँच स्थापित हुँदा साङ्ता गाउँ भौगोलिक विकटताका कारण विद्युत् र सञ्चारको सुविधा पुग्न सकेको थिएन । यहाँका जनताले प्राप्त गर्ने आधारभूत सेवा सुविधा नहुँदा गाउँ विस्थापित हुने जोखिममा थियो”, उहाँले भन्नुभयो ।

दुई वर्षमा साङ्ता गाउँमा सौर्य ऊर्जा, विद्युत् र टेलिकमको बिटिएस मोबाइल सेवा सञ्चालन हुँदा स्थानीय निकायका जनप्रतिनिधिसहित सबै भएका छन् । योसँगै नेपाल टेलिकमले मुस्ताङको सबै गाउँमा सञ्चारको पहुँच स्थापित गर्न भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments