स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व ‘वेलनेश’ दिवस

सन् २०१२ मा पहिलोपटक टर्कीमा वेलनेश दिवस मनाउन सुरु गरे पनि नेपालमा भने दोस्रो वर्ष यो दिवस मनाइएको

काठमाडौँ/ नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व ‘वेलनेश’ दिवस मनाइएको छ ।

स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा आज काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरेको हो ।

विश्व वेलनेश दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले मसाज, स्पा, थेरापी, वेलनेशमार्फत पर्यटन प्रवर्द्धनका लागि स्पा सङ्घ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले वेलनेस मनोरञ्जनको साधन नभएर स्वास्थ्य र आर्थिक समृद्धिको आधार हुनसक्ने बताउनुभयो । उहाँले नेपालकोे पर्यटन मौसममा निर्भर रहेकाले यसलाई वर्षभरि नै सञ्चालन गर्न वेलनेश पर्यटनको अवधारणालाई बोर्डले जोड दिएको बताउनुभयो । पर्यटकको बसाइ अवधि बढाउन पनि वेलनेश पर्यटनबाट सहयोग पुग्ने उहाँको भनाइ थियो ।

पाटा नेपालका अध्यक्ष खेमराज लकाइले विश्व स्वास्थ्य सङ्गठनले अबको दशकको मुख्य समस्या मानसिक स्वास्थ्य रहने र त्यसबाट मुक्तिका लागि आरोग्य पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । स्पालाई मनोरञ्जनबाट पर्यटकीय सम्पदा मान्नु सराहनीय रहेको उहाँको भनाइ थियो ।

स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले व्यस्त र तनावपूर्ण जीवनलाई कम गर्नका लागि स्पा र वेलनेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सन् २०१२ मा पहिलोपटक टर्कीमा वेलनेश दिवस मनाउन सुरु गरे पनि नेपालमा भने दोस्रो वर्ष उक्त दिवस मनाउन लागिएको हो।

सो अवसरमा ठमेल पर्यटन परिषद्का महासचिव बद्री तिमिल्सिना, नेपाल होटल एशोसियसनका सदस्य अश्लेसा कार्कीलगायतले नेपाललाई वेलनेस पर्यटनको सम्भावनाकाबारे बोल्नुभएको थियो ।

स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले प्रत्येक वर्षको जुनको दोस्रो शनिबार विश्व वेलनेश दिवस मनाउँदै आइएको जानकारी दिनुभयो । हाल विश्वका १७० देशमा उक्त दिवस मनाउँदै आएको महासचिव थोकरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments