चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

उहाँले हिजो र आज आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्नुभयो भने शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ

झापा। नेपालका लागि चीनका राजदूत चेन सोङले यहाँका चार विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग तथा खेलकुदका सामग्री वितरण गर्नुभएको छ ।

उहाँले विर्तामोड नगरपालिका–८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ स्थित शनिश्चरे माध्यमिक विद्यालयका ४० विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

उहाँले हिजो र आज आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्नुभयो भने शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । उहाँले चिनियाँ राजदूतावासको रु ५० हजार सहयोगमा निर्माण भएको शुक्रराज आधारभूत माविको चार कोठे दुई तले भवनको उद्घाटन समेत गर्नुभयो ।

राजदूत चेन सोङले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनको सम्बन्ध स्मरण गर्दै २०७२ सालमा गएको भूकम्पपछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालय भवन निर्माणमा सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दूतावासले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले आजै दूतावासकै सहयोगमा बन्न लागेको देवकोटा आधारभूत मावि भवनको समेत शिलान्यास गर्नुभयो । चिनियाँ राजदूत सोङले विर्तामोडका दुई माछा फार्म र अर्जुनधारामा रहेका दुई गाई फार्ममा परीक्षणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।

उहाँले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामग्री, सुपारीको पातबाट निर्माण गरिने दुनाटपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments