सर्लाही/उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वाग्मती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने वाग्मती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ ।
सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताउनुभयो । “वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन”, उहाँले भन्नुभयो, “गत वर्ष खोलाले दुई/तीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ ।” आकाश गड््याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।
गत वर्ष वाग्मतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो । वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताउनुभयो । जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि वाग्मतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उहाँको भनाइ छ ।
रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष वाग्मती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ ।” उहाँलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । “चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति बितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ”, उहाँले गुनासो पोख्नुभयो ।
चुरेको काखमा वाग्मती खुम्चिएर बगेको भए पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ । नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा वाग्मतीले आफ्नो क्षेत्र फैलाएर झण्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । “वाग्मतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ”, बलरा–१ का हरिशरण कापरले भन्नुभयो । वाग्मतीको बाढीले उहाँको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो ।
स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उहाँको भनाइ छ । विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आँकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ विचल्ली हुन नपर्ने उहाँको भनाइ छ ।
विपद् पूर्व तयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन् । नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको स्थानीयले जनप्रतिनिधिले बताएका हुन् ।
बलरा नगरपालिकाका प्रमुख रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताउनुभयो । विपद्का समयमा स्थानीय युवा परिचालन गर्न सकिनेगरी सुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।
“बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्”, प्रमुख कुशवाहाले भन्नुभयो, “उहाँहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायका बारेमा जानकारी दिनसके मात्र ठूलो जनधनको क्षति रोक्न सक्छौँ । सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ ।”
गत वर्ष असारमा वाग्मतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धन्कौल तथा बसवरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए । डुबानले यस क्षेत्रमा, खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुननसकेको स्थानीय स्थानीय सञ्चारकर्मी जितेश यादवले बताउनुभयो ।
नेपालबाट ठूलो क्षेत्रमा फैलिएर गएको वाग्मती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ । जसले गर्दा स्वतन्त्र ढङ्गले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो । भारत सरकारले सीमा क्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट सुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित