इस्लाम धर्मावलम्बी बकरिद मनाउँदै

महोत्तरी/ इस्लाम धर्मावलम्बी (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्वले महोत्तरीका इस्लाम धर्मावलम्बी बसोबासका बस्तीमा निकै चहलपहल छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाउँदैछन् ।

महोत्तरी इस्लाम धर्मावलम्बीको सघन बसोबास भएको जिल्ला हो । जिल्लाका १५ वटै स्थानीय तहमा धेरथोर बसोबास छ । यहाँका स्थानीयमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, बलवा र मटिहानी इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास भएका ठाउँ हुन् ।

यसैगरी बर्दिबास, रामगोपालपुर र भङ्गाहाका केही बस्ती पनि मुस्लिम बसोबास बाहुल्य छन् । यी बस्तीमा आज कुर्वानी (बलि) का लागि खसी, राँगा जुटाइएका छन् । पर्वले मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केेपछि परिवारजनमा खुसी थपिएको छ ।

बक्रइद पर्वमा कुर्वानीका लागि पशु किन्दा मुस्लिमहरू सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ । यो अल्लाह (ईश्वर) को मन्नत (भाकल, समर्पणका लागि) हुँदा कुर्वानीका लागि किनिने पशुमा मोलमोलाइ गरिनु ठीक नहुने पर्वको तयारीमा रहनुभएका भङ्गाहा–४ रामनगरका सहबुल अन्सारी बताउनुहुन्छ ।

पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) लाई समर्पित गर्दै पशु कुर्वानी दिन्छन् । यसलाई कुविचार तथा अहङ्कारको कुर्वानीको प्रतिकात्मक रूपमा बुझ्न सकिने मोल्बीहरू (इस्लाम धर्मगुरू) को भनाइ छ । इस्लाम धर्मावलम्बीले कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ ।

निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् । सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोराजस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्वानी भएको हुँदा यसै घटनालाई सम्झेर बक्रइदमा पशु कुर्वानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्वानी अल्लाहमा समर्पित मानिन्छ ।

घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वी (धर्मगुरू) लाई कुर्वानीस्वरूप रकम पठाउने गर्छन् । बक्रइद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् । यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पूज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउनुहुन्छ ।

आत्मशुद्धि, अल्लाहको पुकारा र अहङ्कारको त्याग यस पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरूका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने, साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments