डेरी उद्योग संघको १५ औँ वार्षिक साधारण सभा, मदानी डेरी काभ्रेसहित अन्य डेरीलाई नयाँ सदस्यता

काठमाडौँ/ डेरी उद्योग संघको १५ औँ वार्षिक साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा संघका कार्यसमितिका तर्फबाट विगत एक वर्षको उपलब्धि, समस्या, पहल तथा आगामी योजनाहरूबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको छ ।

कार्यसमिति तर्फबाट प्रस्तुत प्रतिवेदनमा, विगत वर्षको अवधिमा विश्व दुग्ध दिवस, खाद्य स्वच्छता दिवस, नीति निर्माणमा संलग्नता, अन्तरक्रिया कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका कामहरु उल्लेखनीय रहेको जनाइएको छ ।

साथै, डेरी उद्योगमा उत्पादन वृद्धि भएसँगै खपत घट्दो अवस्थामा कच्चा दूध व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै ‘मिल्क होलिडे’ हुन नदिन संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

संघले दुग्धजन्य पदार्थको आयात रोक्न भारतसँग कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध गरेको थियो भने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न बजेट तथा नीति तहमा सुझाव पेश गरिएको उल्लेख छ । हालै सर्वोच्च अदालतमा चलिरहेको उत्प्रेषणसम्बन्धी मुद्दामा संघले खेलेको कानुनी भूमिकालाई पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

संघले चितवन र बागमती प्रदेशका दुग्ध उत्पादन उद्योगहरूको स्थलगत अनुगमन तथा अन्तरक्रियामा समेत सहभागिता जनाउँदै निजी क्षेत्रको धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको जनाएको छ ।

आगामी वर्षका लागि दूध तथा दुग्धजन्य पदार्थको खपत वृद्धि गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, मूल्य अभिवृद्धि कर हटाउन निरन्तर पहल गर्ने, तथा निर्यात प्रवर्द्धन गर्न सरकारसँग समन्वय बढाउने योजना रहेको बताइएको छ ।

सभामा संघले नयाँ सदस्य मनराम डेरी, झापा र मदानी डेरी प्रा.लि., काभ्रेलाई सदस्यता प्रदान गरेको जानकारी पनि दिइयो । साथै, विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना भएका कार्यक्रममा संघको सक्रिय प्रतिनिधित्व भएको उल्लेख गरिएको छ ।

संघले हालैको आर्थिक विधेयकमार्फत केही दुग्धजन्य वस्तुहरूमा म.अ.कर हटाइएकोप्रति सरकारप्रति आभार व्यक्त गरेको छ । संघले दुग्ध क्षेत्रमा संलग्न सम्पूर्ण सदस्य, सहकारी संस्था, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री रामनाथ अधिकारीले डेरी प्राविधिक सहयोगी पुस्तिका विमचन गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा दही, छुर्पी, खोवा, आइसक्रिम आदिको मापदण्ड बनाउने कार्यमा समेत संघको सक्रियता रहेको छ । साथै, संघले प्रकाशित गरेको ‘डेरी प्राविधिक सहायक पुस्तिका’ र GMP (Good Manufacturing Practice) लागू गर्न तयार पारिएको चेकलिष्ट उल्लेखनीय उपलव्धिको रूपमा प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments