काठमाडौं/झ्यम्भल कृषि फर्म तथा उद्योग, बनेपा–१३ काभ्रेपलाञ्चाेककी सञ्चालिका कमला लामा यस वर्षको राष्ट्रपति महिला उद्यमी सम्मुन्नति पुरस्कार–२०८२ बाट सम्मानित भएकी छिन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रत्येक वर्ष राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रदान गर्ने यो पुरस्कारका लागि यस वर्ष लामा बागमती प्रदेशबाट छनौट भई पुरस्कृत भएकी हुन् ।
पुरस्कृत लामालाई उनले बनेपा–१३ भैंसेपाटीमा सञ्चालन गरिरहेको कृषि फर्म तथा उद्योगबाट रैथाने फलफूल तथा खेर गइरहेका फलफुलजन्य पदार्थहरूलाई क्याण्डी, तितौरालगायत खाद्य पदार्थमा रूपान्तरण गर्नुका साथै यस्ता खाद्यवस्तुहरूको प्रवर्द्धन गर्दै स्थानीयस्तरमा उल्लेख्य उद्यम गरेकोमा मन्त्रालयको ‘राष्ट्रपति महिला उद्यमी सम्मुन्नति पुरस्कार’ कार्यविधिअनुसार मुल्यांकन गरि लामालाई पुरस्कृत गरेको हो । उनले एक लाख रूपैंयासहित सम्मान पत्र (ताम्रपत्र) पाएकी छिन् ।
कार्यविधिमा रहेका विभिन्न सूचकहरूमा उच्च अंक ल्याएर बागमती प्रदेशभरिबाट लामा पुरस्कृत भएकी हुन् । जसमा रोजगार प्रदान गरेको संख्या, रोजगार प्राप्त महिलाको संख्या, उद्योग सञ्चालन अवधि, महिलाहरूलाइ उद्यमी बनाउन सहयोगी कार्यक्रम सञ्चालन गरेको, लेवलिङ, प्याकेजिङ, बजारीकरण र सीप विकास तथा उद्यमशीलता विकास सम्बन्धी तालिम सञ्चालन गरेको र लेवलिङ, प्याकेजिङ, बजारीकरण गरेको लगायतका सूचकहरू थिए ।
सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले पुरस्कार प्रदान गरेका थिए । लामासहित सातवटै प्रदेशबाट एक/एक जना महिलालाई यो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत सबैलाई जनही एक लाख रूपैयाँसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । सो अवसरमा कोशी प्रदेशकी यमकुमारी तुम्सा, मधेस प्रदेशकी डा. सोनी महतो, गण्डकी प्रदेशकी शशीकिरण श्रेष्ठ, लुम्बिनीकी चित्रकली बुढा, कर्णालीकी रूबी आचार्य र सुदूरपश्चिम प्रदेशकी पशुपति कुँवर/सत्य स्वार(दिदीबहिनी)लाई पुरस्कार प्रदान गरिएको हो ।
हरेक प्रदेशबाट उच्च अंक ल्याएका महिला उद्यमीलाई प्रोत्साहित गर्न कार्यविधिअनुसार पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा सचिव लक्ष्मीकुमारी बस्नेतले सम्मानका लागि छनोट भएका उद्यमीहरूको बारेमा जानकारी दिएकी थिइन् । यसैगरी डा. विष्णु बस्यालले महिला अधिकारको अवस्था र कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित