काठमाडौँ/ वरिष्ठ गायिका मिरा राणाले आत्मबलले नै आफूले क्यान्सर रोगलाई पराजित गरेको बताउनुभएको छ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले ३८औँ क्यान्सर सर्भाइभर्स दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आत्मबलले नै क्यान्सर जित्न सकिने बताउनुभएको हो । आफूलाई पाँच वर्षअगाडि क्यान्सर भएको र हाल निको भएको उहाँले सुनाउनुभयो ।
वरिष्ठ गायिका राणाले क्यान्सर भएकाहरू आत्तिन नहुनेमा जोड दिनुभयो । “क्यान्सर भएकाहरू घरमा बसेर आफूलाई यस्तो भयो, उस्तो भयो भनेर सोचेर बस्न हुँदैन । घरभन्दा बाहिर निस्किनुस् । साथीभाइसँग काम गर्नुस् । यसले नै फाइदा हुन्छ”, उहाँले भन्नुभयो ।
गायिका राणा ३० वर्ष उमेर पुगेका महिलाले क्यान्सरको नियमित परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । आफूलाई क्यान्सर भए पनि निको भएर गीत गाउँदै र सबैलाई नचाउँदै आएको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै गीता रानाभाटले आफ्नी छोरीले तीनवटा क्यान्सर जितेको बताउनुभयो । आफ्नो छोरीलाई घाँटी, मुख र पाठेघरको क्यान्सर भए पनि आत्मबलले जितेको उहाँको भनाइ छ । कक्षा १ मा पढदा आफ्नो छोरीलाई क्यान्सर भएकामा निको भएर हाल इन्जिनियरिङ सातौँ सेमेष्टरमा अध्ययन गरिरहेको रानाभाटले सुभाउनुभयो ।
“दिनमा ३० पटकसम्म रगत ‘भमिट’ गरिन् । चिकित्सकले पनि तेरो छोरी बाँच्दिनन् भन्थ्ये,” उहाँले भन्नुभयो, “तर छोरीले हिम्मत हारिनन्, मैले नि हारिन । आत्मबल र समयमा उपचारपछि निको हुँदै भयो । यसर्थ क्यान्सरबाट मरिँदैन । आत्मबल बलियो भए क्यान्सरलाई जितिन्छ ।”
रानाभाटले आफ्नो छोरीलाई नौ पटक घाँटीको क्यान्सर भएको र हाल बढेर मुखमा संक्रमण भएकाले त्यसलाई ब्रेनमा नपुग्न नदिन महिनामा दुईपटक उपचार गर्ने गरिएको बताउनुभयो । छोरीमा भएको पाठेघरको क्यान्सर भने नियन्त्रणमा आएको उहाँले उल्लेख गर्नुभयो ।
त्यस अवसरमा क्यान्सर विजेता तथा वरिष्ठ गायिका राणा र क्यान्सर विजेता साइकलयात्री नमिता बस्नेतलाई सम्मान गरिएको थियो ।
सन् १९८७ नोभेम्बर २० का दिन न्यू मेक्सिकोमा भएको क्यान्सर सर्भाइभर्सहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको निर्णयअनुसार ५ जुन १९८८ देखि दिवस मनाउन थालिएको हो ।
क्यान्सर सर्भाइभर्सलाई आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सर्भाइभर्स तथा तिनका परिवारलाई मनोसामाजिक परामर्श दिने, स्वास्थ्य शिविर आयोजना गर्ने र सर्भाइभर्सको सर्वसुलभ तथा निःशुल्क उपचार गरिरहेको सोसाइटीकी कोषाध्यक्ष विनु केसीले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित