काठमाडौं/ संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराई सहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेज प्रसाद खरालले जानकारी दिएका छन् ।
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।
उनले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गर्दै आफ्नो कार्यकालमा रहेका पदाधिकारीहरुको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
संस्थाको १३ सदस्यीय कार्यसमितिमा एक जना सदस्य नवगठित कार्य समितिले चयन गर्ने बरिष्ठ उपाध्यक्ष राजेश थापाले बताए ।
सर्वसम्मत १२ जनाको कार्यसमितिमा संगीतकार बबिना भट्टराई एक मात्र महिला सदस्य निर्वाचित भएकी छिन् । संगीतकार भट्टराई विगत १६ वर्ष देखि गायनको साथसाथै संगीतकारको भूमिकामा समेत नेपाली गीत, संगीत, भक्ति संगीतमा सक्रिय रहेकी छिन् ।
बबिना भट्टराई नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी संगीतकर्मी हुन् । कार्यसमितिमा निर्विरोध निर्वाचित भए संगै आफ्नो पदीय जिम्मेवारी र दायित्वलाई गम्भीर भएर पूरा गर्ने उनले बताएकी छिन् ।
नवगठित कार्यसमितिलाई जेठ १८ गते एक कार्यक्रम आयोजना गरि पदभार हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित