राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

काठमाडौँ/ प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबीच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गङ्गा दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पुरूषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी तौलभन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुनेछ । यसवर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाडी सबैलाई समेट्ने गरी राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो ।

प्रतिष्ठानले विभिन्न समयमा भरतपुरमा तेश्रो संस्करणसम्मको साइकलिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सबै जिल्ला, प्रदेश तथा विभिन्न क्लबका महिला पुरूष गरी एक सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । पुरूषतर्फ प्रत्येक तौल समूहमा पहिलो, दोस्रो, तेस्रो, चौथो तथा पाँचौं स्थानसम्मका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फको खुल्ला तौल समूहमा प्रथम हुने खेलाडीलाई नगद रू एक लाख तथा पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीलाई क्रमशः नगद रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

एक दिवसीय प्रतियोगितामा फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक पुरूष वजन समूह प्रथम द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments