सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउने

काठमाडौँ/सरकारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउने भएको छ । साइवर सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गर्ने तथा साइबर सुरक्षा जोखिम आंकलन गरी त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने सरकारको योजना छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भन्नुभयो, “सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिनेछ । विद्युतीय व्यापार विस्तार र लजिष्टिक सेवा सञ्चालन गर्न हुलाक सम्बद्ध निकायबीच अन्तर आबद्धता कायम गरिनेछ, हुलाक कार्यालयहरूलाई क्रमशः स्मार्ट हुलाकमा विकास गरिनेछ ।”

सार्वजनिक सूचनामा नागरिकको सहज पहँुच कायम गरिनेछ । प्रेस स्वतन्त्रताको संवद्र्धन गरी पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने तथा नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गर्ने योजना बनाएको छ ।

बजेट वक्तव्यमा भनिएको छ, “सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम् प्रविधिको खोज, अनुसन्धान, विकास र नवप्रवर्तनमा जोड दिइनेछ, डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिनेछ । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछन् । डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न रु ७४ करोड विनियोजन गरिएको छ ।”

तथ्याङ्कको भरपर्दो सुरक्षाका लागि क्लाउड पूर्वाधारको स्तरोन्नति गर्ने, जियो स्टेसनरी सेटलाइट अर्विटमा नेपालको भू–उपग्रह स्थापनाको आधार तयार गर्ने, सूचना प्रविधि उद्योगका लागि इकोसिस्टम विकास गरिनेछ । सूचना प्रविधि सेवाको निर्यात प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने, कृत्रिम बौद्धिकता र मेसिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने र कृत्रिम बौद्धिकताको व्यावसायिक प्रयोग प्रवद्र्धनका लागि सहजीकरण गर्ने पनि सरकारको योजना छ ।

नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन गर्न इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।

“नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गरिनेछ । सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभाइड न्यूनीकरण गरिनेछ । ब्रोडब्यान्ड सेवाको विस्तार गरिनेछ । देशभर फोरजी सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार गरिनेछ । काठमाडौँ उपत्यका र ठूला सहरी क्षेत्रमा फाइभजी सेवा सुरुआत गरिनेछ, मोबाइल सेटको अवैध आयात र प्रयोगमा रोक लगाउन आइएमइआई दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ”, बजेट वक्तव्यमा उल्लेख छ ।

सार्वजनिक निकायका सूचना प्रविधि पूर्वाधारमा एकरूपता ल्याउन हार्डवेयर र सफ्टवेयरको मापदण्ड तयार गरिनेछ । सार्वजनिक निकायहरूले स्वदेशमा विकास भएका सूचना प्रविधि सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सेवा प्रसारणको अन्तरराष्ट्रिय पँहुच विस्तार गर्न एनटिभी वल्र्ड च्यानल र पिएसबी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने, दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटिटी सेवाको नियमन गर्न कानुनी व्यवस्था गर्ने तथा विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित गर्ने सरकारको योजना छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु सात अर्ब ७२ करोड बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments