वडा अध्यक्षले बेचेको पुल प्रहरीले गर्यो जफत, तर जाहेरी भने लिन मानेन

झोलुङ्गे पुलको बिक्री विवाद

बाढीले बगाएको रोशी गाउँपालिका वडा न ७ रघुचौरको झोलुङ्गे पुल वडा अध्यक्ष अशोक कुमार गौतमले २ लाख रुपैयाँमा कवाडीलाई बेचेको खुलेको छ। यस विषयमा स्थानीय आक्रोशित छन्, किनकि सार्वजनिक सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी बेचिएको थियो।


प्रहरी हिरासतमा कवाडी व्यवसायी

पुलका सामान ढुवानी गरिरहेका कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई कटुञ्जे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। उनीहरू अहिले हिरासतमा छन्। स्थानीयले प्रहरीले वडा अध्यक्षलाई उन्मुक्ति दिने मनस्थितिमा रहेको आरोप लगाएका छन्।


जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

वडा सदस्य मानदोर्जे तामाङले वडा अध्यक्ष गौतमले एकल निर्णयमा राज्यको सम्पत्ति बेचेर आफ्नो निजी बैंक खातामा पैसा जम्मा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिन खोजेका थिए। तर, प्रहरीले जाहेरीको ढाँचा नमिलेको भन्दै दर्ता गर्न अस्वीकार गरेको छ।


वडा अध्यक्षको खण्डन र थप अनुसन्धानको माग

आरोप लागेका वडा अध्यक्ष अशोक कुमार गौतमले आफूमाथि निराधार आरोप लगाइएको बताएका छन्। उनले नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीचको समन्वयमा सामान उठाउन दिएको स्वीकारेका छन्, तर पैसा नलिएको दाबी गरेका छन्। यद्यपि, वडा सदस्य तामाङले भने वडा अध्यक्षले कवाडी व्यवसायीबाट क्यूआर कोडमार्फत पैसा लिएको र सो रकम राज्यकोषमा जम्मा नभएको बताएका छन्। स्थानीय र वडा सदस्यहरूले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्ने बताएका छन्।


Lahachhap

काभ्रेपलान्चोक (रोशी)/ गत असोजको अविरल वर्षाका कारण रोशीमा आएको बाढीले ठुलो जनधनको क्षति भयो। काभ्रेमा ८९ जनाको ज्यान गयो र अरबौंको निजि तथा भौतिक सम्पति र संरचना बाढीले बगाएर लाग्यो।

सयौं घरबार बिहिन भए, बगेका कति सार्वजनिक सम्पति भेटिए कति जमिनमै बिलय भए। उक्त बाढी र पहिरोले बगाए मध्येको एउटा रोशी गाउँपालिका वडा न ७ रघुचौरको झुलुङ्गे पुलको जगदेखि उखेलेर भत्काईदियो। रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिक आवतजावत गर्ने झोलुङ्गे पुल बगाएपछि पैदलयात्रीकालागि बाटो ‘डाइभर्सन’ गरिएको छ।

बटुवाको बाटो ‘डाइभर्सन’ भएसंगै बगाएको पुललाइ भने वडा अध्यक्षले व्यवसायिक ‘डाइभर्ट’ गरिदिएका छन्। बिपी राजमार्गदेखि ग्रामिण बस्तिसम्म जोड्ने उक्त पुल रोशी-७ का वडाअध्यक्ष अशोक कुमार गौतमले दुइ लाख रुपैयामा कवाडीलाइ बेचेको खुल्न आएको छ। रोशी-७ कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्रि गरेको स्थानीयले बताएका छन्।

बाटो, पुल जस्ता सरकारी सम्पतिको सम्बन्धित पक्षसंग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्रि वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। खोलामा रहेको पुल काटेर कवाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कवाडीवालाबीच केहि विवाद भएको थियो। वडा अध्यक्षको निर्देशनमा समान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाइ सूचना दिएका थिए।

सोहि सूचनाका आधारमा कटुञ्जे प्रहरी चौकीका सई मनु सापकोटा नेतृत्वको टोलिले रोशी-७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्वरको लोड भएका ट्रक नियन्त्रणमा लिएको थियो। प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाइ नियन्त्रणमा लिएको हो। उनीहरु अहिले कटुन्जे प्रहरी चौकीको हिरासतमा छन्।

हिरासतमा भएका कवाडी व्यवसायीलाइ दोषी देखाई वडा अध्यक्षलाइ उन्मुक्ति दिने मनस्थितिमा प्रहरी रहेको स्थानीयको भनाइ छ। गाउँपालिकाको कुनैपनि संयन्त्र, वडा सदस्य तथा स्थानीयलाइ समेत जानकारी नदिइ वडा अध्यक्ष गौतमले सार्वजनिक सम्पति बिक्रि वितरण गर्दा समेत प्रहरी प्रशासन मौन रहेको कटुन्जेवासीको गुनासो छ।

घटनालाइ दबाउन प्रहरीले भित्रभित्रै सहमति गराउने प्रयास गरेपनि स्थानीयले मानेनन् र वडा सदस्यकै नेतृत्वमा उनीहरुले आवश्यक छानबिनका लागि आवाज उठाएका छन्। वडा अध्यक्ष गौतमले एकल निर्णयमा राज्यको सम्पति बेचेर आफ्नो निजि बैंक खातामा पैसा जम्मा गराएको भन्दै सोहि वडाका वडा सदस्य मानदोर्जे तामाङले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिन खोजेपनि प्रहरीले बुधबार जाहेरी लिन मानेन। उनीहरु निराश भएर फर्किए।

सार्वजनिक सम्पति व्यक्तिले बेचेको आरोपमा दिएको जाहेरी प्रहरीले बुझ्न मानेन भन्ने थाहा पाएपछि लाहाछापले जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेलाइ सोधेका थियौं। डिएसपी घलेले सम्बन्धित बिषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिएरहेको र जाहेरीको ढांचा नमिलेकोले फर्काएका हौँ, अनुसन्धानबाट आएको तथ्यका आधारमा जोसुकै भएपनि कानुनी कारवाही हुने बताए।

यस्तो छ, जाहेरी:

निर्वाचित जनप्रतिनिधिले नागरिक र राज्यको सम्पति संरक्षण र सुव्यवस्था कायम गर्नुको साटो खुलेआम सार्वजनिक सम्पति बेचेको बिषयलाइ प्रहरी प्रशासनले राजनीतिक हिसाबले ढाकछोप गरि बेइमानी गरेपनि वडा सदस्यसहित सयौं स्थानीयले अख्तियारसम्म पुग्ने बताएका छन्।

यता, आरोप लागेका रोशी-७ का वडा अध्यक्ष अशोक कुमार गौतमले आफूमाथि निराधार आरोप लागिएको बताएका छन्। बाढी र पहिरोपछि नमोबुद्द नगरपालिका र रोशी गाउँपालिकाबीच पालिका स्तरीय टोलि बनेको र टोलीले सार्वजनिक सम्पतिको पहिचान गरि सम्बन्धित निकायलाइ अवगत गराउने र त्यसको व्यवथापन गर्ने भन्ने सल्लाह बमोजिम आफुले समान उठाउन दिएको तर रकम नलिएको कबुलेका छन्। उनले नमोबुद्द-६ र रोशी-७ को समन्वयमा समान उठाउन दिएको कुरा चाहिं स्वीकारेका छन्।

वडा अध्यक्ष गौतमले कवाडी व्यवसायीबाट बैंकको क्युआर मार्फत पैसा लिएको र सो रकम राज्यकोषमा जम्मा नभएको सोहि वडाका निर्वाचित वडा सदस्य मानदोर्जे तामाङले लाहाछापलाइ बताए।

तर, नमोबुद्द नगरपालिका-६ का वडा अध्यक्ष टिकाबहादुर केसीले भने रोशी-७ बाट उठाएका समानहरु ढुवानीको लागि आवश्यक सहजीकरणको सिफारिस लेखिदिएको हो। उनले कवाडी व्यवसायीलाइ नमोबुद्द नगरपालिका क्षेत्रमा बाढीले बगाएका समान लैजाने हो भने प्रक्रिया पुरा गरेर नगरपालिकामै राजस्व जम्मा गरेरमात्र लैजान भनेको बताए। आफ्नो वडाबाट कुनैपनि समान उठाउन नदिएको भन्दै वडा अध्यक्ष केसीले आफुले सार्वजनिक सम्पति बिक्रि नगरेको तथा व्यक्तिगत रुपमा रकम बुझेको प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताएका छन्।

बाढीले बगाउनु पहिलेको थानसिङ्गबेशी झोलुङ्गे पुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments