काभ्रेपलाञ्चोक / गत असोज १०, ११ र १२ गतेको बर्षात पश्चात रोशी खोलामा आएको बाढीले बगाएको रोशी आधारभूत अस्पतालको अस्थायी संरचना (मेडिकल क्याम्प किट) निर्माण पश्चात हस्तान्तरण गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको सो अस्पताल संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेलगत्तै मन्त्रालयले रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको रोशी–१ फलामेसाँघुस्थित १० शैयाको रोशी आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । अस्थायी रुपमा सञ्चालित अस्पतालको भवन समेत बगाएपछि अलपत्र अवस्थामा टेन्टमा बसेर स्वास्थ्य सेवा प्रदान हुँदै आएको थियो ।
बुधबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी सो मेडिकल क्याम्प किट हस्तान्तरण भएको थियो ।
हस्तान्तरण गर्दै सहसचिव बुढाथोकीले आधारभूत अस्पताल बनाउन संघीय सरकारको दायित्त्व भएकोले बजेट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताए । स्थायी अस्पताल भवन निर्माण गर्नको लागि आवश्यक ठाउँ पहिचान गरेमा बजेट व्यवस्थापन हुने उनले आश्वासन दिए । विपदमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै उनले आगामी दिनमा पनि सहयोग र सहकार्य रहिरहने बताए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवनसहित रोशीमा धेरै जनधनको क्षति भएको दोहर्याए ।
निर्माणको ९० प्रतिशत सम्पन्न भएको भवन बाढीले बगाएपछि स्वास्थ्य सेवा दिनको लागि छटपटाई रहेको अवस्थामा अर्धपक्की भवन प्राप्त गरेपछि लामाले खुशीयाली व्यक्त गरे । अर्धपक्की भवनसहित स्वास्थ्य सामग्री प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई गाउँपालिका अध्यक्ष लामाले आभार प्रकट गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डवले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।
अर्धपक्की भवन पाएपछि रोशी आधारभूत अस्पतालबाट रोशी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का नागरिकले सुविधा पाउने रोशी गाउँपालिकाका अध्यक्ष मिमबहादुर वाईबाले बताए ।
रोशी गाउँपालिकाका नागरिकलाई मात्र नभई नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका केही वडाका नागरिकले पनि स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाई थियो । यस भेगका स्थानीयले स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको अपेक्षा रह्यो ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले अस्पतालमा नागरिकले पनि चासो दिएर आफ्नो स्वास्थ्य परिक्षण गर्नुपर्ने बताइन् । अस्पताल बनाएर स्वास्थ्य सेवा लिन अन्यत्र जाँदा सरकारको लगानी सदुपयोग नहुने भन्दै नजिकको अस्पतालमा सेवा लिन नागरिक जागरुक हुनुपर्नेमा उनको जोड थियो ।
अस्पताल भवनसँगै अस्पतालको लागि आवश्यक सबै सामग्री पनि विश्व स्वास्थ्य संगठनले हस्तान्तरण गरेको छ । तीन महिनाको लागि १० हजार जना सेवाग्राहीलाई पुग्ने औषधी पनि संगठनले हस्तान्तरण गरेको छ । हाललाई अस्थायी रुपमा सञ्चालन गर्नको लागि सो मेडिकल क्याम्प किट ५ बेड क्षमताको छ ।
गाउँपालिका अध्यक्ष लामाले सहयोग गर्ने विश्व स्वास्थ्य संगठन र निर्माण कम्पनी एस एस आरलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका थिए ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नं. १ की कार्यवाहक वडाध्यक्ष मनकुमारी लामा, वडा नं. २ का वडाध्यक्ष हस्तमान लामा, वडा नं. ३ का धनजीत लामा र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य लगायतको उपस्थिति थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित