काठमाडौँ / उच्च अदालत वीरगञ्जले रौतहट बम विस्फोट काण्डमा दोषी ठहर भएका काँग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमलाई सफाइ दिएको छ।
जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै आलमलाई आरोपमुक्त गरेको हो।
२०६४ चैत २७ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइतेहरूलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको अभियोग आलममाथि थियो। घटनामा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका घाइतेहरूलाई आलमले आफ्ना सहयोगीहरूसँग मिलेर हत्या गरेको आरोप थियो। प्रत्यक्षदर्शीका अनुसार, बम बनाउने क्रममा विस्फोट भएपछि घटना लुकाउन घाइतेहरूलाई इँटा भट्टामा जलाएको बयान दिएका थिए।
सर्वोच्च अदालतको आदेशपछि २०७६ असोज १९ मा आलम पक्राउ परेका थिए। प्रहरीले घटनास्थलमा विस्फोट नभएको भनी मुचुल्का बनाएको र सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएको थियो। तर, मानव अधिकार आयोग र अन्य निकायका प्रतिवेदनले हत्या पुष्टि भएको दाबी गरेको थियो।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो। विस्फोटमा घाइते भएकाहरूलाई घटना लुकाउन जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप छ। प्रत्यक्षदर्शीले घाइतेहरूले बचाउन आग्रह गर्दा पनि जलाएको बयान दिएका थिए।
घटनापछि प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेका थिए। २०६५ असार ३० मा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मृत्युको पुष्टि नभएको भन्दै मुद्दा नचल्ने निर्णय गरे। साथै, बम काण्डमा मृतक ओशी अख्तरकी आमा रुक्सनाको २०६७ माघ ८ मा गोली हानी हत्या भएको थियो, जसको अनुसन्धान अझै भएको छैन।
पीडितहरूले सर्वोच्च अदालतमा निवेदन दिएपछि न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले मुद्दा चलाउन आदेश दिएको थियो। २०७६ असोज १९ मा आलम पक्राउ परे र कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी तीन मुद्दा दायर भए। जिल्ला अदालतले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित