काठमाडौँ / २०८१ साल असोज महिनाको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद कहिल्यै सामना गर्नु नपर्ने गरी तयारी गर्नु पर्ने अवस्था आएको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।
आज विश्व वैङ्कका प्रतिनिधिहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘पूर्व तयारीका काम तत्काल थाल्नुपर्छ । तथ्य संकलन र मूल कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्छ । यो सहरी विकासका लामो चरणले सिर्जना गरेको अवस्था हो । साझेदारहरुसँग समन्वय र सहकार्य गरेर विगतमा भएको त्रुटि सच्याउँदै जानुपर्छ ।’
‘काठमाडौँका नदीमा यो तहमा पानीको बहाव मेरो पुस्ताले देखेको थिएन । यस्तो खालको समस्या भोग्नु परेको थिएन । त्यो दुखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौँले यस खालको विपद् भोग्नु नपरोस् ।’
‘सहरी विकासका सवालमा प्रश्नहरु छन् । चुनौतीहरु छन् । समाधानका उपाय छन् । यी सवै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’
वैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरुले गरेको प्रयत्न काठमाडौँका लागि सिकाइ नहुन सक्छ । काठमाडौँको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरहरुभन्दा फरक छ ।’
छलफलमा बर्खाको पानी व्यवस्थापन गर्न नसक्दा हुन सक्ने समस्याहरुका बारेमा चर्चा गर्दै, घरेलु फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली र नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्ध लगायत पक्षबाट जोखिम न्यूनीकरणका सम्भावनामा कुरा भएको थियो ।
सहरमा फैलिने डेङ्गी संक्रमणको अवस्थालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उहाँले थप्नुभयो, ‘डेङ्गी फैलिनु भनेको बर्खाको पानीको उचित व्यवस्थापन गर्न सकिएको छैन भन्ने हो । हेर्दा सामान्य जस्तो लागे पनि यसले सहरको अर्थतन्त्र, जनस्वास्थ्य, वातावरण र सामाजिकताको चक्रमा गहिरो नकारात्मक प्रभाव राख्छ । यसलाई घटाउन पनि बर्खाको पानी व्यवस्थापन प्रणाली बनाउनुपर्छ ।’
नदीको प्राकृतिक वहाव, मानवीय क्रियाकलापले सतहको पानी तथा ढलको पानी निकासमा पार्ने प्रभाव र यस्ता प्रभावले समग्र सहरको स्थितिमा ल्याउने असरको पूर्वानुमान गरेर तयारीका काम थाल्नु पर्नेमा बैठकका अधिकारीहरुको जोड थियो ।
वैठकमा महानगरपालिकाको विपद व्यवस्थापन विभाग र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय तथा विश्व वैङ्कका वरिष्ठ सहरी विद र सहरी विकास परामर्शदातासहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित