बङ्गलादेशका शक्तिशाली सेना प्रमुखले देशका पूर्व प्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताउनुभएको छ ।
सेना प्रमुखको उक्त टिप्पणीलाई स्थानीय मिडियाले रिपोर्ट गरेको छ भने सैन्य स्रोतहरूले पनि बिहीबार पुष्टि गरेका छन् ।
बङ्गलादेशी अखबारहरूका अनुसार जनरल वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई यदि अगावै चुनाव भएन भने यस वर्षको डिसेम्बरसम्ममा चुनाव गराउनुपर्ने बताउनुभएको छ ।
करिब १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहदेखि राजनीतिक अशान्तिमा छ र सडकमा प्रदर्शन गर्ने दलले धेरै माग राखिरहेका छन् ।
“बङ्गलादेश अराजक चरणबाट गुज्रिरहेको छ”, अखबारहरूका अनुसार वाकर–उज–जमानले भन्नुभयो, “स्थिति दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । नागरिक प्रशासन र कानून प्रवर्तन निकायहरूको संरचना भत्किएको छ र पुनर्गठन गर्न असफल भएको छ ।”
चुनावको कुनै मिति तोकिएको छैन तर अन्तरिम नेता, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले चुनाव ढिलोमा सन् २०२६ जुनसम्ममा गराइने बताउनुभएको छ ।
तर चुनावमा अग्रणी उम्मेदवारका रूपमा हेरिएको प्रमुख बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बारम्बार चुनावको मिति माग गरेको छ ।
बिएनपीले बुधबार राजधानी ढाकामा विरोध प्रदर्शन गर्यो । महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले पहिलो पटक कार्यवाहक सरकार विरुद्ध प्रदर्शन गरे ।
एक अधिकारीको प्रश्नको जवाफमा सेना प्रमुखले कथित रूपमा भन्नुभयो, “चुनाव डिसेम्बरसम्म गराउनुपर्छ, यदि त्यो भन्दा पहिले भएन भने ।”
उहाँले अधिकारीहरूलाई ‘चुनावको समयमा इमानदारी र निष्पक्षताका साथ आफ्नो कर्तव्य पूरा गर्न’ पनि भन्नुभएको बताइएको छ ।
गत वर्ष अगस्टमा हसिनालाई अपदस्थ गरिएको र सेनाले छोटो समयका लागि नियन्त्रण लिएको घोषणा गर्ने व्यक्ति वाकर–उज–जमान नै हुनुहुन्थ्यो ।
केही दिनपछि उहाँले ८४ वर्षीय युनुसलाई सत्ता हस्तान्तरण गर्नुभयो । युनुसले अर्को चुनावसम्म आफूले कार्यवाहक सरकारको नेतृत्व गर्ने बताउनुभएको छ ।
सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्नल सामी–उद–दौला चौधरीले सेना प्रमुख वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई सम्बोधन गर्नुभएको तर ‘बैठक गोप्य थियो’ भनी पुष्टि गर्नुभयो ।
तर बैठकको प्रत्यक्ष जानकारी भएका तीनवटा स्रोतले सेना प्रमुखले चुनाव गराउने आवश्यकतामा जोड दिनुभएको र डिसेम्बरसम्ममा सम्पन्न गर्नुपर्ने बताउनुभएको भनेका छन् ।
आफ्नो शान्त व्यवहारका लागि परिचित वकर–उज–जमान सत्रको समयमा निराश र असन्तुष्ट देखिनुभएको बताइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित