काभ्रेपलाञ्चोक/जिल्ला सदरमुकाम धुलिखेलमा समुदायको सहभागितामा सन् १९९६ मा धुलिखेल अस्पताल स्थापना भएको थियो । त्यतिखेर धुलिखेल नगरपालिका, नेपालीमेड अष्ट्रिया र धुलिखेल स्वास्थ्य सेवा संघको सहकार्यमा थालिएको परियोजना हो ।
स्वास्थ्य सेवा प्रदायकको रूपमा धुलिखेल समुदायले स्थापना गरेको अस्पताललाई स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह देवले उद्घाटन गरेका थिए । स्थापनाको दोस्रो वर्षमै तत्कालीन देवभूमि बालुवा गाविस(हालको पाँचखाल–१०) मा पहिलो आउटरिच खुलेको थियो ।
रेफरल अस्पताल पूर्वका सबै स्वास्थ्य सेवाहरु उपलब्ध हुने गरी आउटरिच स्थापना भएको थियो । यतिखेर विभिन्न चार प्रदेशका १८ ठाउँमा अस्पताल आफैं पुगेको छ । विगतमा यो संख्या २१ पुगेको थियो । अहिले घटेर १८ भएको हो ।
रेफरल अस्पताल पूर्वका सबै स्वास्थ्य सेवाहरु उपलब्ध हुने १७ वटा आउटरिच र एउटा दोलखा अस्पताल–धुलिखेल अस्पताल दोलखा बजारमा सञ्चालित छ । दोलखा अस्पताल धुलिखेलपछिको सबै स्वास्थ्य सेवा उपलब्ध भएको अस्पताल हो ।
यही उपलब्धिलाई अस्पतालका दाता, आउटरिच सञ्चालनका सहयोगीहरु, धुलिखेलवासीहरुका साथै पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागले बिहीबार सामुदायिक दिवस मनाएको छ ।
सो अवसरमा सामुदायिक कार्यक्रम विभागका हेल्थ प्रोग्राम–लिड दिनेश थापाले प्रस्तुतिकरणमार्फत प्रत्येक आउटरिचमा र दोलखा अस्पतालमा पुर्याएको स्वास्थ्य सेवा, समुदाय सहयोग कार्यक्रमलगायतमा प्रकाश पारेका थिए ।
अस्पतालले समुदायको आय–आर्जनका लागि ‘माइक्रो फाइनान्सिङ’ गरिरहेको छ । यसमा सहभागी महिलाहरुले २५ हजार रुपैयाँसम्म जम्मा ४ प्रतिशत ब्याजमा ऋण पाउँछन् । त्यसबाट उनीहरुले पशुपालन, माछापालन र तरकारी खेती गर्ने गरेको थापाको भनाई छ ।
दोलखाका एक नगरपालिका र ३ गाउँपालिकामा गैरसरकारी संस्था सम्भव (पोसिवल) सँगको सहकार्यमा ‘समुदाय स्वास्थ्य सहयोग’ कार्यक्रममार्फत रोग लाग्न नदिने र सुरक्षित प्रसुति सेवाका लागि सहजीकरण र सहयोग गरिरहेको थापाले जानकारी दिए । यसका लागि ४४ जना पूर्णकालीन ‘कम्युनिटी हेल्थ वर्कर’ खटिँदै आएका उनको भनाई छ ।
सो अवसरमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. बिराजमान कर्माचार्यले २३ वर्ष अघि अस्पतालमा मेडिकल अफिसरका रुपमा सेवा प्रवेश गरेदेखि नै समुदायस्तरमा पुगेर आउटरिच कार्यक्रमलाई प्रभावकारी बनाउन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा मनाइएको सामुदायिक दिवसका अवसरमा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकजु श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन प्राडा राजेन्द्रप्रसाद कोजु, फलेबास आउटरिच पर्वतका अध्यक्ष भोलानाथ शर्मा, दाप्चा हेल्थ सेन्टरका अध्यक्ष मोहन श्रेष्ठ, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठलगायतले धुलिखेल अस्पताल र यसका आउटरिच सेन्टरहरुबाट पुगेको स्वास्थ्य सेवा र सामुदायिक कार्यक्रमहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित