तनहुँ/नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस भानु नगरसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो ।
पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ । कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गर्नुभयो ।
प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायत सहभागी हुनुहुन्थ्यो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित