काठमाडौँ/उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता मुलुकको वर्तमान आर्थिक अवस्था र स्रोत व्यवस्थापनको क्षमताका आधारमा तय गरिएको स्पष्ट पार्नुभएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा उहाँले यर्थाथलाई आत्मसात गरेर सरकार अगाडि बढ्न लागेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद र समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने गरी बजेटको दिशा तय गरिने स्पष्ट पार्नुभयो ।
उहाँले न्यायपूर्ण पहुँचसहित उत्पादन वृद्धिलाई प्राथमिकता दिइएको उल्लेख गर्दै गरिबी न्यूनीकरणमा केन्द्रित योजनाहरू प्रस्तुत गरिने बताउनुभयो । “सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि विशेष दृष्टिकोणसहित अगाडि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
अर्थमन्त्री पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको मनोबल वृद्धि गर्ने, आत्मविश्वास बढाउँदै लैजाने, रोजगारी सृजना गर्ने तथा उत्पादनशीलता र प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने अपरिहार्य रहेको उल्लेख गर्नुभयो । आगामी बजेटले दिगो र तीव्र गतिको आर्थिक विकासलाई केन्द्रमा राखेको र त्यसकै आधारमा संविधानमा उल्लिखित मौलिक हकहरू पूर्ण कार्यान्वयन हुने सुनिश्चितता गरिने बताउनुभयो ।
उहाँले तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यलाई विशेष ध्यान दिइएको उल्लेख गर्दै बजेट अनुशासन र सार्वजनिक वित्त सन्तुलनलाई पनि केन्द्रमा राखिएको जानकारी दिनुभयो । नागरिकले सरल र प्रविधिमैत्री सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यसहित प्रविधिको पहुँच विस्तार, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइएको उहाँको कथन छ ।
बेरोजगारी अन्त्य, गरिबीको रेखामुनि रहेका वर्गको स्तरोन्नति र स्वरोजगार प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू ल्याइने जानकारी दिँदै उहाँले कानुनी सुधारमार्फत लगानी विस्तार, उत्पादन अभिवृद्धि र राष्ट्रिय आयमा वृद्धि गर्ने नीति लिइएको स्पष्ट पार्नुभयो । कृषि क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न यान्त्रिकीकरणलाई जोड दिइएको र कृषिमा स्वतन्त्र ढङ्गले युवालाई संलग्न हुन सक्ने वातावरण बनाइने विश्वास दिलाउनुभयो ।
मुलुकको पर्यटन क्षेत्रको सम्भावनालाई पूर्णरूपमा सदुपयोग गर्ने लक्ष्यका साथ सरकारले आवश्यक पहलकदमी लिने उहाँको भनाइ छ । यस्तै, औद्योगिक विकास, नयाँ प्रविधिको प्रयोग गर्दै डिजिटल अर्थतन्त्रको विस्तारमा जोड दिइएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।
उहाँले पूर्वाधार निर्माणलाई तीव्रता दिन वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक तयार गरिएको र सो विधेयकमार्फत अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँले संसद्लाई उक्त विधेयक छिटो अघि बढाइदिन आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले लोकप्रियतावादबाट बच्न सांसदहरूले दिनुभएको सुझावलाई आत्मसात गरिने बताउनुभयो ।
फरक एक प्रसङ्गमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आसेपासे पूँजीवादलाई सरकारले नचिन्ने स्पष्ट पार्नुभयो । सरकारले पूँजीगत खर्चमा वृद्धि गर्न आवश्यक पहल गर्ने, योजनाहरू समयमै सम्पन्न गर्ने र वातावरण निर्माण गर्ने उहाँले विश्वास दिलाउनुभयो । अर्थमन्त्रीले बजेटमा सन्तुलन र अनुशासनलाई ध्यान दिइने एवं कार्यान्वयनमा समेत उत्तिकै ख्याल गरिनेछ भन्नुभयो ।
प्रि–बजेट छलफलका क्रममा संसद्मा उठेका विषय र सांसदहरूले राख्नुभएका चासो यही जेठ १५ गते प्रस्तुत हुने बजेटमा व्यक्त हुने अर्थमन्त्री पौडेलको प्रष्टोक्ति छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते बिहान ११ः०० बजे बस्नेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित