कश्मिरका मुख्यमन्त्रीले भिडिओ सार्वजनिक गर्दै भने-पाकिस्तानले युद्धविराम तोडेर सीमामा आक्रमण गर्यो

भारतले युद्धविराम भएको केही बेरमै पाकिस्तानले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ।

शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी भारत-पाकिस्तानबीच युद्धविराम सहमति भएको थियो। त्यसको केही बेरमै जम्मू-कश्मिरको भारत-पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानले हवाई आक्रमण गरेको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ।

जम्मू-कश्मिरका मुख्यमन्त्री ओमर अबदुल्लाहले पाकिस्तानले युद्धविराम भएको केही बेरमै श्रीनगर लगायत सीमा क्षेत्रमा आक्रमण गरेको भनेर भिडिओ सार्वजनिक गरेका छन्।

उनले पाकिस्तानबाट युद्धविराम उल्लंघन गरिएको भन्दै आपत्ति जनाएका छन्। श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको जानकारी दिँदै युद्धविरामप्रति प्रश्न पनि गरेका छन्।

पाकिस्तानले पुनः आक्रमण गरेको सार्वजनिक भएपछि भारतीय प्रतिरक्षा प्रणाली पुनः सक्रिय बनाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

त्यस्तै, होशियारपुर, उधमपुर, बर्नाला, सांग्रुर, फजिल्का, कात्रा र भवनमा ब्ल्याकआउट गरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार बलोत्राका बासिन्दालाई बत्ती निभाउन र घरभित्रै बस्न भनिएको छ। पठानकोट, गुरदासपुर, बठिन्डा लगायत क्षेत्रमा साइरन बज्नुका साथै ब्ल्याकआउट गरिएका छन्।

कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले आतंकवादी अखडामा हमला गरेको भन्दै बुधबार बिहानदेखि मिसाइल हानेको थियो। ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो हमलापछि पाकिस्तानले पनि जबाफी हमला सुरू गरेको थियो।

शनिबार अमेरिकी मध्यस्थतामा दुवै पक्ष युद्धविराम गर्न सहमत भएका थिए। भारत र  पाकिस्तान युद्धविराम गर्न सहमत भएको जानकारी सबभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेका थिए। दुवै राष्ट्रले यसको पुष्टि गर्दै युद्धविराम घोषणा गर्दा सीमा क्षेत्रमा खुसियाली जुलुस प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

अहिले साँझ भने श्रीनगरमा विस्फोटको आवाज आएको जम्मुका मुख्यमन्त्रीले जनाएका हुन्। भारतीय सञ्चार माध्यमहरूले पनि पाकिस्तानले ड्रोन हमला जारी राखेको दाबी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments