वार्षिक ३५ सय बिरामीको सिटी स्क्यान गर्ने लक्ष
काभ्रेपलाञ्चोक/मध्यपहाडको व्यापारिक नगरी बनेपामा गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा स्थापनाको ६५ वर्षपछि अत्याधुनिक सिटी (कम्प्युटेड टोमोग्राफी) स्क्यान मेशिन भित्रिएको छ ।
अस्पतालमा भित्रिएको सिटी स्क्यानर १६० स्लाइसको रहेको छ । पछिल्लो समय मुलुकका धेरै अस्पतालहरुले १२८ स्लाइसको सिटी स्क्यानरबाट रोग निदान गर्दै आएका छन् । विगतमा १६ स्लाइस, ६४ स्लाइसका सिटी स्क्यानरहरुको धेरै प्रयोग हुने गथ्र्यो ।
यो मेशिनले ८० डिटेक्टरहरू प्रयोग गरेर एउटै रोटेशनमा शरीरका धेरै फोटोहरू खिच्दछ । यसलाई उन्नत इमेजिङ प्रविधि मानिने भएकाले यसबाट हाइ–रिजोल्युसन र विस्तृत क्रस–सेक्शनल फोटोहरू छिटो प्राप्त हुने गर्दछ ।
हाइ–रिजोल्युसन, विस्तृत क्रस–सेक्शनल फोटोहरूले गर्दा क्यान्सर, मुटु रोग, फोक्सोको रोग र स्नायु विकारहरू जस्ता अवस्थाहरूको निदान गर्न उपयोगी मानिन्छ । स्लाइसहरूको धेरै संख्याले स्क्यानिङमा छिटो समयको लाग्ने, बिरामीलाई असुविधा कम हुने र निदान शुद्धता हुने रेडियोलोजिष्टहरुको भनाई रहेको छ ।
यस तथ्यलाई पुष्टि गर्दै अस्पतालकी मेडिकल मामिलाकी उपाध्यक्ष डा. एन्जेला बस्नेतले भनिन्, ‘अस्पतालमा आएको जापानीज क्यानन सिटी स्क्यानबाट अत्याधुनिक तरिकाले होल बडी सिटी र न्यूरो डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राफी(डिएसए), होल बडी सिंक्रोनाइज, भास्कुलर एन्जियोग्राफी, रेनल एन्जियोग्राफी, लंग्स नोड्लस एनालाइसिस, थ्रीडि/फोरडि कलर एन्जियोग्राफीलगायत धेरै निदान गर्न सहज भएको छ ।’
मध्यपहाडी जिल्लाहरुलाई जोड्ने राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरुमा हुने सडक दुर्घटनाका घाइतेहरुलाई तत्कालै यस अस्पतालमा ल्याइँदा अधिकांशको टाउकोको चोटपटक हुने र निदानका लागि सिटी स्क्यान गर्न अस्पतालले अन्यत्र रेफर गर्नु पर्ने बाध्यता थियो ।
सोही अवस्थाको अन्त्यका लागि अस्पताल परिवार, स्थानीय समुदायका साथै दाताहरुले लामो समयको अथक प्रयासपछि अस्पतालमा अत्याधुनिक सिटी स्क्यानर भित्रन सम्भव भयो ।
हाल शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रस्ट (एसएमएमइटी) को स्वामित्त्वमा सञ्चालित यस अस्पतालले बिरामीहरुलाई उनीहरुले उपचार सेवाको शुल्क तिर्न क्षमताको पर्वाह नगरी उपचारात्मक सेवाहरू प्रदान गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेक्टर गायरस, जुनियरले जानकारी दिए ।
हुने र नहुने सबैलाई गुणस्तरिय उपचारात्मक सेवा प्रदान गर्दै आएकाले पनि यो अस्पताल पछिल्ला वर्षहरुमा समुदायको अभिन्न अङ्ग बनेको छ । अस्पतालले काभ्रेपलाञ्चोकलगायतका मध्यपहाडी जिल्लाहरु सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीका बिरामीहरुलाई उपचारात्मक सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
अत्याधुनिक सिटी स्क्यानर खरीद प्रयोजनमा रोटरीको ग्लोबल ग्रान्टका लागि होस्ट क्लबका रुपमा रोटरी क्लब अफ कुपण्डोल (आरआई डिष्ट्रिक्ट ३२९२) ले अग्रसरता र अगुवाई लिएको हो । उसैको अगुवाईमा रोटरीका विभिन्न क्लबहरु र आरआई डिष्ट्रिक्टहरुले यसमा सहकार्य गरेका क्लबका अध्यक्ष रोटरियन लोचन जोशीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय साझेदारका रुपमा रोटरी क्लक अफ बोनिटा बिच सनसेट् (आरआई डिष्ट्रिक्ट ६९६०), फ्लोरिडा, अमेरिका रहेको छ । आरआई डिष्ट्रिक्ट ६८९०, ६९२०, ३०,४०, ५०,६०, ८० र ९० ले डिष्ट्रिक्ट डिजाइनेटेड फण्ड(डिडिएफ) उपलब्ध गराएका हुन् ।
यस्तै, रोटरी क्लबहरुमा रोटरी अफ काभ्रे–बनेपा, रोटरी क्लब अफ इको फ्राइण्ड्ली (आरआई डिष्ट्रिक्ट ६९३०), रोटरी क्लब अफ लिट्टल्टन, रोटरी क्लब अफ मायामी एयरपोर्ट र रोटरी क्लब अफ साल्ट लेक सिटी रहेका छन् ।
द रोटरी फाउण्डेशनको ग्लोबल ग्रान्ट नम्बर जिजी २३४७२७३ मार्फत यो परियोजना सम्भव भएको रोटरी क्लब अफ काभ्रे–बनेपाका अध्यक्ष रोटरियन श्यामकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार ग्लोबल ग्रान्टका लागि अमेरिकी डलर ४ लाख ६० हजार प्रस्तावित भएको हो ।
बागमती प्रदेश सभाका सदस्य एवं पूर्व संघीय उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले अस्पतालमा बुधबार अत्याधुनिक सिटी स्क्यानको सेवा शुभारम्भ गरे । सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, बनेपा नगरपालिका, नगर कार्यपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, वडा नं ५ का अध्यक्ष बलराम अधिकारीको सहभागिता थियो ।
रोटरीका तर्फबाट रोटरी डिष्ट्रिक्ट ३२९२, नेपाल–भुटानका गभर्नर रोटरियन राजेन्द्रमान शेरचन, पूर्व गर्भनरहरु रोटरियन सञ्जय गिरी र रोटरियन जितेन्द्रबहादुर राजभण्डारी, गर्भनर(नोमनी) रोटरियन विष्णुबहादुर कार्की, डिष्ट्रिक्ट ३२९२ रोटरी फाउण्डेशन चेयर रोटरियन कुमुदकुमार त्रिपाठी, डिष्ट्रिक्ट पब्लिक इमेज चेयर रोटरियन अमित गिरी, रोटरी डिष्ट्रिक्ट इकोनोमिक एण्ड कम्युनिटी डेभेलपमेन्ट चेयर रोटरियन हिरा शर्मा नेपाललगायत रोटरी पनौती, धुलिखेलका रोटरियनहरुको उल्लेख्य सहभागिता थियो ।
शीर मेमोरियल अस्पतालले विगतदेखि आर्जन गर्दै आएको ‘नामी अस्पताल’ को पहिचान फर्काउन र समय सापेक्ष उपाचारत्मक सेवा प्रदान गर्नका लागि पछिल्लो समय सबैतिरबाट सक्रियता बढ्दो छ । यसै सन्दर्भमा सिटी स्क्यान मेशिन खरीदमा पनि विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सहयोग गरेका छन् । जसमा एड्भेन्ट हेल्थ–रकी माउण्टेन रिजन, एड्भेन्ट हेल्थ–प्रेसिडेन्ट्स काउन्सिल, एड्भेन्टिस्ट हेल्थ इन्टरन्यासनल, लोमा लिण्डा यूनिभर्सिटी, वासिङ्गटन नेपाल हेल्थ फाउण्डेशन र विनिफ्रेड् स्टेभेन्स फाउण्डेशन रहेका छन् ।
अस्पतालमा सिटी स्क्यान मेशिन आउने पक्का भएपछि कर्मचारीहरुमा उत्साह थपियो । मेशिनमात्रै प्राप्त भएर नपुग्ने भएपछि त्यसलाई सञ्चालनका लागि डेडिकेटेड ट्रान्सफर्मरसहितको विद्युत लाइन र वैकल्पिक व्यवस्थाका लागि जेनेरेटर किन्नु थियो ।
यी सबै व्यवस्थाका लागि अस्पतालका सबै कर्मचारीहरुले मन खोलेर सहयोग गरेका छन् । जसमा ५ सय रुपैंयादेखि १ लाखभन्दा माथिको रकम सहयोग गर्नेहरु रहेका छन् । यसबाट जेनेरेटर राख्ने भवन, ट्रान्सफर्मरसहितको विद्युत लाइन र जेनेरेटर किनिएको छ । सहयोगीहरुको नामावली सिटी स्क्यान मेशिन रहेको कोठामै टाँसिएको छ । यतिखेर सिटी स्क्यान मेशिनसहित जेनेरटर खरीद, डेडिकेटेड ट्रान्सफर्मरसहितको विद्युत लाइन र पूर्वाधारमा साढे ७ करोड रुपैँया लागत पुगेको छ ।
सिटी स्क्यान मेशिन राखिएको कोठालाई मोह लाग्दो स्वरुप दिइएको छ । सबै भित्ताहरुमा हिमाल र पहाडहरुको दृश्यले छोपिएको छ । बिरामी उत्तानो परेर मेशिनमा छिर्ने क्रममा सिलिङ्गमा बादलको आकृति देख्ने बनाइएको छ । यसबाट बिरामीलाई अर्कै अनुभूति हुने विश्वास लिइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित