महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न माग

नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताउनुभयो

काठमाडौँ। भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताउनुभयो । यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उहाँले माग गर्नुभयो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडूले बताउनुभयो । प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उहाँले सुझाव दिनुभयो ।

सांसद रेखा यादवले युवा रोजगार कार्यक्रम विगतदेखि नै आए पनि कार्यान्वयन हुन नसक्दा युवा विदेशिनु परेको, महिला घरेलु श्रमिकको अवस्थाका बारेमा नीति तथा कार्यक्रम नबोलेको बताउनु भयो ।

सांसद लालप्रसाद साँवा लिम्बूले तीन हजार २०० मेगावाट विद्युत् उत्पादन हुनसक्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराउने नीति राम्रो भएको बताउनुभयो । वैदेशिक रोजगारमा जाने युवालाई सस्तो, सहज र सुलभरुपमा पठाउनुपर्ने उहाँले बताउनुभयो । मलेसिया पठाउने बिचौलिया लागिपरेकाले त्यसलाई रोक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सांसद गङ्गा कार्कीले आर्थिक द्रुतगतिको कारक बनेको भ्रष्टाचार न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिनुपर्ने बताउनुभयो । तीन सयभन्दा धेरै सहकारी ठगीमा कति जनालाई कारबाही भयो भनी सरकारले समीक्षा गर्नुपर्नु उहाँको विचार थियो ।

सांसद रामकृष्ण यादवले वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका सात बुँदा पनि नीति तथा कार्यक्रममा आउनुपर्ने बताउनुभयो । खेतबारीमा बाँदर, हात्तीलगायत जङ्गली जनावरले दुःख दिइरहेकाले त्यसबाट किसानलाई मुक्ति दिने कार्यक्रम आउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

हुलाकी राजमार्ग बजेट अभावले पूरा हुन नसकेकाले यसतर्फ ध्यान दिन पनि उहाँले अनुरोध गर्नुभयो । सोह्र वर्षदेखि सडक नबन्दा अस्तव्यस्त भएर नागरिकले दुःख पाएको उहाँले बताउनुभयो ।

नीति र कार्यक्रममा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments