सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबीच भेटवार्ता

भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषिखेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ

सुदूरपश्चिम। भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ ।

मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषिखेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो ।

पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक टुरिजमलगायत विषयमा छलफल गर्नुभयो । यस्तै, कृषिमन्त्री जोशीले छलफलका क्रममा नेपालको भौगोलिक अवस्था र मौसमअनुसारको कृषिखेती गरी उत्पादित कृषिउपजलाई बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । सोहीअनुसार बीउबिजन र प्राविधिक सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

भारत सरकारको निमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको दश सदस्यीय टोली यही वैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments