कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ : सभापति देउवा

ललितपुर/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनुभएको छ ।

कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताउनुभयो ।

“प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ । केही सुझाव हेर्दा खर्चिलो पनि छन्”, सभापति देउवाले भन्नुभयो ।

उहाँले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाउनुभयो । “विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताउनुभयो । “गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो ।

“नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो हुँदैन, विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो,” महामन्त्री थापाले भन्नुभयो । उहाँले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिकरूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिक भएको बताउनुभयो ।

“हामीले सार्वभौम नागरिकको समानतामा ध्यान दिनुपर्छ, नेपालको अर्थतन्त्रको आधार भनेको ज्ञान र सीप नै हो, मानिसलाई ज्ञान र सीपयुक्त बनाउनु जरुरी छ, विपन्न लक्षित कार्यक्रममा ज्ञान सीपले दक्ष बनाउने हुनुपर्छ, सीप सूचना र प्रविधिले ल्याएको परिवर्तनसँग मेलखाने र सँगसँगै जान सक्ने खालको हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठीक भएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिवेदन पार्टीको सम्पत्ति भयो भन्दै सङ्घीय बजेटमा पर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव पेस गर्न आग्रह गर्नुभयो ।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५/२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनले कोरेका खाकालाई पछ्याउने हो भने २० वर्षमा समृद्ध नेपाल निर्माण हुने धारणा राख्नुभयो ।

विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट सङ्कलन गरेको तथ्य र तथ्याङ्कका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो । प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको उहाँले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments