काठमाडौँ विश्वविद्यालय र हल्याण्डस्थित एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र हेगस्थित एनपिआइले सोमबार ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा दिनेश काफ्लेले जानकारी दिनुभयो । दुई संस्थाबीच सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमतिका साथै एकअर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाइएको उहाँले बताउनुभयो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव र कार्यसम्पादन आदानप्रदानको अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“विश्वविद्यालयको दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तरराष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति रहेको छ, एनपिआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा छोटो वा लामो अवधिमा योगदान पुर्‍याउन सक्छ, विश्वविद्यालय र संस्थाबीचको सहकार्यले विचारहरूको आदानप्रदान हुने अपेक्षा छ”, उपकुलपति वाग्लेले भन्नुभयो ।

कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा ‘थिङ्क ट्र्याङ्क’ प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्यले विश्वविद्यालय र संस्थाले अलगअलग रूपमा गर्दै आएका कार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

“यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्‍याउनेछ, जसले अन्ततः देशलाई फाइदा पु-याउनेछ”, ढकालले भन्नुभयो । उहाँले वर्तमान नेपालका सन्दर्भमा सार्वजनिक क्षेत्र, विश्वविद्यालय र ‘थिङ्क ट्याङ्क’बीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकतासमेत औँल्याउनुभयो ।

काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको डा काफ्लेले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयका केन्द्रीय तथा आङ्गीक क्याम्पसमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

एनपिआइ सन् २०१७ द नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो । यसले विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दाबढी प्रवासी विज्ञहरू आबद्ध छन् । पछिल्लो सम्झौताअघि एनपीआइ र केयु स्कूल अफ म्यानेजमेन्टले सङ्घीय सरकारका अधिकारीहरूका लागि नेपाल नीति नेतृत्व कार्यक्रम (एनपिएलपी) लगायत विभिन्न पहलमा सहकार्य गरेका छन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयकातर्फबाट स्कूल अफ म्यानेजमेन्टका डीन प्रा डा विजय केसी र स्कूल अफ इञ्जिनियरिङका डीन प्रा डा मनिष पोखरेललगायत विभिन्न सङ्काय तथा निर्देशकालयका प्रमुख अधिकारीहरूको उपस्थिति थियो ।

एनपिआइका तर्फबाट कार्यकारी बोर्ड सदस्यहरू गोपी मैनाली, सरु जोशी श्रेष्ठ र सम्झना श्रेष्ठ तथा विज्ञहरू डा विकल श्रेष्ठ, डा प्रह्लाद कार्की, अधिवक्ता भुपाल ढकाल र सुधीर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments