बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

उहाँले बुद्धले देखाउनुभएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताउनुभएको छ

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले बुद्धले देखाउनुभएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताउनुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्, विश्वशान्तिका लागि चुनौती बनेका बताउनुभयो । “संसारमा खतरनाक हतियार निर्माण भएका छन्, युद्ध र हिंसाबाट शान्ति स्थापना हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवद्र्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाउनुभएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताउनुभयो । उहाँले लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ ।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । महोत्समा ४० देशका प्रतिनिधि सहभागी छन् । महोत्वस लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो ।

महोत्सव बौद्धदर्शन र संस्कृतिको प्रवद्र्धन गरी विश्वमाशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवद्र्धन समाजले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments