भक्तपुर/ स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रविधिमैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको कमीको परीक्षण सुरु गरेको छ ।
सहरदेखि गाउँघरका बासिन्दामा पछिल्लो समय थाइराइडको रोग बढ्दै गएको, शरीर कमी भएको भिटामिनका बारेमा जानकारी नपाउँदा रोग पाल्दै बस्नुपर्ने र थाइराइडको परीक्षण एवं औषधि लिन भक्तपुरदेखि काठमाडौँका अस्पतालसम्म नै धाउनुपर्ने समस्या नगरपालिकाले अन्त्य गरेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रमअन्तर्गत रु १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन हस्तान्तरणपछि चाँगनारायण नगर अस्पतालले यो सेवा विस्तार गरेको हो ।
कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन बुधबार हस्तान्तरण गरेसँगै चाँगुनारायण अस्पतालले आफ्नो नगर अस्पतालमा यो सेवा विस्तार गरेको हो ।
कागेश्वरीका नगरप्रमुख कार्कीले चाँगुनारायण नगरवासीलाई गुणस्तरीय सेवा विस्तार गर्न आफ्नो नगरपालिकाले पनि प्रविधि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गर्दै यसले स्थानीय सरकारबीचको अन्तरनगर सम्बन्धलाई घनिष्ट र मजबुद् बनाउने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले नगर अस्पतालाई थप प्रविधिमैत्री बनाउन कागेश्वरी मनोहराको मेसिन सहयोगले तत्कालै सेवा विस्तार गर्न सहज भएको बताउँदै अब नगरवासीले यस्ता सेवा लिन टाढा धाउनु नपर्ने बताउनुभयो ।
दुई स्थानीय सरकारकाबीचको मजबुद सम्बन्धले एकापसमा सहयोगको भावना बढाएको बताउँदै चाँगुनारायणवासीलाई नगरपालिकाले निःशुल्क अक्सिजन वितरण गर्दै आएको, प्रसूतिदेखि अधिकांश सेवा आफ्नै अस्पतालमा विस्तार गरेको र अस्पताल आउन नसक्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउनुभयो ।
उहाँले उपचार नपाएर चाँगुनारायणवासीले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताउँदै चाँगुनारायण अस्पताललाई सुविधासम्पन्न र प्रविधिमैत्री बनाउँदै लगेको बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित