कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

प्रदेश सरकार कोशी प्रदेश पर्यटन वर्ष–२०८२ मूल आयोजक समितिको आयोजनामा समारोह सम्पन्न भएको हो

तेह्रथुम। उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ ।

आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दे उहाँले तीनै तहका सरकार मिलेर जनताको अवस्था बदल्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकार कोशी प्रदेश पर्यटन वर्ष–२०८२ मूल आयोजक समितिको आयोजनामा समारोह सम्पन्न भएको हो । शुभारम्भ समारोहका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमीकमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी पर्यटकीय गन्तव्यको विकास गर्दै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्नेसमेत उहाँले बताउनुभयो ।

गुराँसको राजधानी घोषणा गरिएको पर्यटकीय क्षेत्र (टिएमजे) तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक मैत्री संरचना निर्माण गरिएका छन् । गुराँस फुल्ने याममा उक्त, क्षेत्रमा देश तथा विदेशबाटसमेत पर्यटकहरु आउने गर्छन् । विशेषगरी पूर्वी तराई तथा भारतको विहार, सिक्किम, दार्जिलिङ क्षेत्रबाट बर्सेनि हजारौं पर्यटकहरु यहाँ आउने गर्छन् ।

सो समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने बताउनुभयो । उहाँले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताउँदै नेपालीहरुले भारतीय सेनामा कार्यरत रही भारतमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

टिएमजे क्षेत्र तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमानामा पर्छ । यहाँ २८ प्रजातिका गुराँस पाइन्छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाले सो समारोहको समन्वय गरेको थियो । नगरप्रमुख अर्जुनबाबु माबुहाङले रित्तिरहेको पहाडलाई यस्ता पर्यटकीय क्षेत्रमा निर्माण गरिने संरचना र प्रचारप्रसारले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख माबोहाङकै परिकल्पनामा गुराँसे जङ्गलको बीचमा आरआर गार्डेन निर्माण गरिएको हो । त्यसैगरी रैथाने शैलीमा चोत्लुङ पार्क निर्माण गरिएको छ । जसले पर्यटकीय नगरी लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकीय चहलपहल बढेको छ ।

समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरु सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments