अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान लिएको छ । अधिकारीहरूले आइतबार अत्यधिक सङ्क्रामक दादुरा रोग फैलिँदै गर्दा अहिलेसम्म करिब छ सय ५० जना सङ्क्रमित भएको बताएका छन् ।
“भर्खरै दादुरा भएको पत्ता लागेको एक विद्यालय उमेरका बच्चाको निधन भएको खबर सुनेर हामी निकै दुःखी छौँ”, टेक्सासको मेडिकल सेन्टर, युएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले भन्नुभयो ।
उक्त बच्चाले अस्पतालमा ‘दादुरा जटिलताहरू’ को लागि उपचार प्राप्त गरिरहेको भन्दै उहाँले बच्चालाई ‘दादुरा विरुद्धको खोप लगाइएको थिएन र कुनै अन्तर्निहित स्वास्थ्य समस्या थिएन’ भन्नुभयो ।
अमेरिकाले वर्षौंको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुझिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपको महत्त्वलाई कम आँक्ने आफ्नो विगतको बयानबाजीले स्वास्थ्य विज्ञहरूलाई चिन्तित बनाएको छ ।
तथापि केनेडीले आइतबार एक्समा ‘दादुरा फैलन रोक्ने सबैभन्दा प्रभावकारी तरिका एमएमआर खोप हो’ भनेर लेख्नुभएको छ ।
उहाँले आफ्नो स्वास्थ्य तथा मानव सेवा (एचएचएस) विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू (सिडिसी) ले टेक्सासमा खोप वितरणलाई सहयोग गरिरहेको बताउनुभयो ।
बच्चाको परिवारलाई सान्त्वना दिन टेक्सास गएको बताउनुहुने केनेडीले आइतबारसम्म ‘२२ राज्यमा दादुराका छ सय ४२ पुष्टि भएका मामिलाहरू र तीमध्ये चार सय ९९ टेक्सासमा’ रहेको पनि उल्लेख गर्नुभयो ।
एयर फोर्स वानमा पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले प्रकोपलाई ‘अहिलेसम्म हामीले कुरा गरिरहेको कुराको तुलनामा सापेक्षिक रूपमा सानो सङ्ख्या’ भनेर कम आँकेको देखिन्थ्यो ।
तर उहाँले थप विवरण नदिई यदि यो ‘बढ्दै गयो भने हामीले धेरै कडा कारबाही गर्नुपर्नेछ’ भन्नुभयो ।
सिडिसीले अलास्कादेखि फ्लोरिडासम्मका साथै न्युयोर्क सहरमा फैलिएका मामिलाहरू रेकर्ड गरेको छ ।
टेक्सासले फेब्रुअरीको अन्त्यमा पहिलो पटक दादुराबाट बच्चाको मृत्यु भएको रिपोर्ट गरेको थियो । लगभग एक दशकमा यस रोगबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो ।
गत महिना न्यु मेक्सिकोका एक वयस्कको मृत्युलाई पनि सिडिसीले दादुरासँग सम्बन्धित मृत्युका रूपमा वर्गीकृत गरेको थियो ।
सिडिसीले अप्रिल ३ मा भनेअनुसार सिडिसीले गणना गरेका दादुराका अधिकांश मामिलाहरू – ९७ प्रतिशत – दादुरा विरुद्ध खोप नलगाएका बिरामीहरू हुन् ।
तीमध्ये एक सय ९६ जना पाँच वर्ष मुनिका, दुई सय ४० जना ५–१९ वर्षका र थप एक सय ५९ जना २० वर्ष वा सोभन्दा बढी उमेरका थिए भने अन्य केही अज्ञात उमेरका थिए ।
‘प्रकोप’ लाई तीन वा बढी सम्बन्धित मामिलाका रूपमा परिभाषित गर्ने सिडिसीले सन् २०२५ मा अहिलेसम्म छ वटा प्रकोप रेकर्ड गरेको छ । पुष्टि भएका मामिलामध्ये करिब ९३ प्रतिशत ती प्रकोपहरूसँग सम्बन्धित छन् ।
“तुलनात्मक रूपमा सन् २०२४ मा १६ प्रकोप रिपोर्ट गरिएको थियो र ६९ प्रतिशत घटनाहरू (दुई सय ८५ मध्ये एक सय ९८) प्रकोपसँग सम्बन्धित थिए”, यसले आफ्नो वेबसाइटमा भन्यो ।
“यो दुर्भाग्यपूर्ण घटनाले खोपको महत्त्वलाई जोड दिन्छ”, टेक्सासको युएमसी हेल्थ सिस्टमका डेभिसले पछिल्लो मृत्युको बारेमा इमेलमा भन्नुभयो, “हामी सबै व्यक्तिलाई आफ्नो र व्यापक समुदायको रक्षा गर्न आफ्नो खोपहरूसँग अद्यावधिक रहन प्रोत्साहित गर्दछौँ ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित