पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ । पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो–‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र सम्बर्द्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो ।’

उहाँले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् प्रकृतिको वरदानका रुपमा कयौं रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको भन्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताउनुभयो । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उहाँको भनाई थियो ।

राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भुकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जिर्णोद्धार चुनौतिपूर्ण कार्य हुँदाहुँदै यो मन्दिर पुननिर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments