पोखरामा ‘२०औं फेवा नव वर्ष महोत्सव २०८२’ चैत्र ३० देखि

काठमाडौं / पर्यटनको राजधानी पोखरामा ‘२०औं फेवा नव वर्ष महोत्सव २०८२’ हुने भएको छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित चैत ३० गते देखि आगामी वैशाख १ गते सम्म महोत्सव हुने भएको हो ।

निःशुल्क प्रवेशको व्यवस्था रहेको महोत्सव फेवा किनारको करिव ३ किलोमीटर क्षेत्र लेकसाइड सडकमा संचालन हुने जनाइएको छ ।

आयोजकका अनुसार नेपाली नयाँ वर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यसको प्रचारप्रसार गरी आफ्‌नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्रायले सांस्कृक्तिक झाँकीसहित महोत्सवको आरम्भ गरिनेछ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले महोत्सवको सञ्चालन शुभकामना दिँदै नयाँ वर्ष २०८२ सालमा २० लाख भन्दा बढी पर्यटन भित्राउने लक्ष्य रहेको बताए । उनले गएको वर्ष भन्दा यस वर्ष महोत्सवलाई परिमार्जन गरी प्रस्तुत गर्ने जानकारी दिए ।

होटल संघ नेपाल पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचनले महोत्सव गर्न कुनै अवसर चाइन्छ । त्यसैले हामीले नयाँ वर्षमा आटेको बताएका छन् । ‘पर्यटनलाई चलायमान बनाउन गतिविधी हुनु पर्छ । यसमा थोरै स्टल रहने र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिने छ ।’, उनले भने ।

नेपाली खानाको प्रदर्शनी र प्रवर्द्धनलाई पनि महोत्सवमा विशेष जोड दिइने उल्लेख गरिएको छ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा होटलहरुको प्रकाशित दर रेटमा २० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटकहरुको बसाई अवधि लम्ब्याई आर्थिक चलायमानमा वृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवकै प्रचारप्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरुमा हालै ‘जाउँ है पोखरा’ अभियान संचालन गरी त्यस क्षेत्रका बसिन्दालाई फेवा महोत्सवमा सहभागीताका लागि आमन्त्रण गरेको छ । संघले पर्यटकहरुका लागि घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज घोषणा गरेको छ ।

आयोजकका अनुसार सन् २०२५ लाई पोखरा महानगरपालिकाद्धारा पोखरा भ्रमण वर्ष घोषणा गरिए पश्चात आयोजना गर्न लागिएको यस महोत्सवले भ्रमण वर्षको लक्ष्यलाई पुरा गर्न सघाउ पुऱ्याउनेछ । महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरी एरिया संयोजकहरु तोकिएको छ ।

प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, व्याडमिन्टन कप, स्थानिय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम महोत्सवका आकर्षणहरु रहने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments