काभ्रेपलाञ्चोक/ जर्मनीका रोटरी भोलेन्टियर डा ईभी तथा रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल, बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पताल र नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति अस्पताललाई ३६ वटा हेमोडायलाइसिस मेसिन प्रदान गरिएको छ ।
धुलिखेल, शिर मेमोरियल र कौशल्या मेमोरियललाई १०/१० थान तथा सहिद स्मृति अस्पताललाई छ थान मेसिन हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष ज्योत्सना सैँजुका अनुसार ती मेसिन कूल रु पाँच करोड बढी मूल्यका हुन् ।
यसैबीच सोही कार्यक्रममा स्थानीय तह तथा संस्थाको साझेदारीमार्फत ब्लड बैंक तथा रिसर्च सेन्टर र विद्युतीय शवदाह गृह निर्माणका लागि सम्झौता गरिएको छ ।
धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापनाका साथै धुलिखेल नगर र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
यी संरचना निर्माणार्थ कुन मोडलमा जाने भन्ने विषयमा अबका बैठकले तय गर्ने धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित